
अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा मंगलबार पञ्चवली पूजा गरिएको छ ।
स्थानीय जलजला स्थित पञ्चवली मन्दिरमा बाजागाजा सहित पुजा गरी त्यहाँ परेवा, हाँस, बोका, कुखुरा र रागाको वली दिइएको हो ।
गाउँ हरेक हिसावले सुरक्षित हुने जनविश्वासका साथ परापूर्व कालदेखि नै त्यहाँ वार्षिक रुपमा उक्त पुजा गरिदै आइएको छ ।यसवर्षको पुजा प.भक्तिराम देवकोटा तथा टोकनाथ देवकोटाले सहजीकरण गरे ।
त्यस अवसरमा गाउँपालिकाको सहयोग तथा जनसहभागितामा पुनः निर्माण गरिएको सो मन्दिरको उद्घाटन समेत भयो।
उद्घाटन गर्दै वडाध्यक्ष एकदेव देवकोटाले पञ्चवली मन्दिर समग्र लुम्लेवासीको आस्थाको धरोहर भएको जनाउँदै मन्दिरको स्तरउन्नतीमा जोड दिए ।उनले पुजा मार्फत लुम्लेवासी एक छन् भन्ने संदेश गएको भनाई राख्दै एकतामा नै शक्ति हुने स्पष्ट पारे ।
त्यस अवसरमा स्थानीय समेत रहेका कांग्रेस नेता आइबहादुर गुरुङ, पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ, वडा सदस्य निलकण्ठ जंैसी, जिल्ला समन्वय कास्की सदस्य गणेश जिसी, जौमाया देवकोटा लगायतले पनि भनाई राख्दै पञ्चवली मन्दिर तथा पुजाको महत्वबारे प्रकाश पारे।
मन्दिर निर्माण समिति अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय निमा गुरुङले स्वागत तथा राजु गुरुङले संचालन गरे।
त्यस्तै लुम्ले स्थित वराह, देउराली, सिद्ध तथा भूमे मन्दिरमा पनि मंगलबार पुजा भएको छ।










