हेमजाकै ज्वाइँ बन्न मन गरेका बद्री

-


     श्रीभद्र पौडेल    
     वैशाख २ गते २०८२ मा प्रकाशित


चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको क्रेज जहाँ गयो, त्यही अझ उस्तै छ । सोमबार १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आफ्ना पुराना र पछिल्ला एकपछि अर्को गीत पस्किरहँदा दर्शकले उनलाई भरपूर साथ दिइरहे।

मुलुकमा यतिखेर राजावादी सक्रिय छन् । गणतन्त्र पनि धरापमा पर्ने खतरा छ । पंगेनीले दशकअघि गाएको ‘अझै नि गणतन्त्र आको छैन है’ होस् वा हेमजापारिकी गायिका समीक्षा अधिकारीसँग मिलेर भर्खरै गाएको ‘तिम्रो राशि तुला पर्‍यो, मेरो राशि कन्या’ सबै सबै गीतमा दर्शकले निकै माया दर्शाए । उनीहरु कम्मर मर्काई मर्काई नाचिरहे भने केहीले ताली पिटिरहे । यही गीतकी मोडलमा आफ्नी छोरी बिहानी छन् । गीत चलेसँगै बिहानी पनि दर्शक स्रोताको मनमुटुमा बस्न सफल बनिन् ।

स्टेजमा एकपछि अर्को गीत गाइरहेका पंगेनीलाई दर्शकको हुटिङ यतिसम्म भयो कि उनी दर्शकमाझ पुगेरै गाउन बाध्य भए । स्टेजबाट फुत्त ओर्लिएका उनी दर्शकसँग घेरिएरै ‘हेमजा बजारमा देखेको, जीवन बिताउन लेखेको’ भन्दै कन्या राशिको गीतमा फुर्को थपे–

‘कस्तो साइत पर्‍यो नि हाम्रो ।
हेमजामा त जुन हेर्‍यो त्यही राम्रो’ भन्दै झ्याउरे पनि गाउन भ्याए ।

‘बसे है पाले दाइ’, ‘पैसा सापटी’ गाइरहेका उनले हेमजाको ज्वाइँ बन्न नसकेको रहस्य गीतबाटै खुलाए । घरीघरी दर्शकलाई समेत गाउन माइक सोझ्याउने उनले भने–

‘मनको कुरा सकिनँ भन्न ।
इच्छा थियो हेमजाकै ज्वाइँ बन्न ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष पंगेनीले दर्शकमाझ नै गएर अन्य थुपै गीत पनि गाएर र प्रशस्त मनोरञ्जन दिलाएका थिए ।

पंगेनीजस्तै सोमबार महोत्सवमा कलाकार चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, सन्ध्या विसी, अनिल चापागाईं, सञ्जीवसिंह राना तथा आवाज व्याण्डले प्रस्तुति राखेको सांस्कृतिक उपसमिति संयोजक सूर्य कुँवरले जानकारी दिए ।

मंगलबार अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदीप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुति रहने छ ।

महोत्सवको नवौं दिन सोमबारसम्म करिब ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको आयोजकले जनायो । यस्तै, २ हजार ७ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

महोत्सवमा आलुका अलावा कृषितर्फ ३० तथा व्यापारिकतर्फ १२० व्यापारिक छन् । हरेकजसो स्टलमा दर्शकको उस्तै भिड हुने गरेको पाइन्छ ।

सोमबार साँझसम्म २ करोड ८० लाख बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए ।

विष्णुपादुका खेल मैदानमा जारी महोत्सवमा सोमबारसम्म ३२ लाख बढीको आलु कारोबार भएको छ । यहाँ प्रतिकेजी ४२ मा आलु पाइन्छ ।

हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानामा पनि स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

महोत्सव ३ वैशाखसम्म चल्नेछ ।