‘आलुको पहाडसँगै सेल्फीको मञ्जा’

-


     श्रीभद्र पौडेल    
     चैत्र २६ गते २०८१ मा प्रकाशित


राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ ।

कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ ।

यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।चैत २४ गतेबाट सुरु १३ औं महोत्सव यहि वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ।त्यहाँ ४० टनको आलुको पहाड निर्माण गरिएको छ।

तस्विर खिच्न बुढा, पाका देखि अनुज एवम् तन्नेरी पुस्ता समेत हैसिएका छन् ।सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार पहाडसँगै तस्विर कैद गर्दै गरेकी स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी दिपा ढकालले बताइन् ।

मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म ५ लाख बढीको आलु कारोवार भएको पनि सुनाए।

महोत्सव अन्तर्गत मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।त्यस्तै मंगलबार कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे ।

त्यस्तै बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

महोत्सवमा आलु, कृषि उपज लगायत विभिन्न स्टलबाट समेत गरी मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छन् ।

पछिल्लो जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।

त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गरिएको हो।