
धवलागिरी सामुदायिक स्रोत विकास केन्द्रकी अध्यक्ष सिर्जना थापाले सोमबार पोखरामा आयोजित कार्यक्रममा भन्दै थिइन् विद्युतीय चुल्होले मेरो जीवन बदलिदियो ।सुरुमा मलाई पनि चुल्होको प्रयोग कस्तो, कस्तो लाग्थ्यो तर केही महिनाको प्रयोगसँगै अभ्यस्त बने, पछि ग्याँस, दाउराको तुलनामा निकै सहज महशुस भयो।
पहिले भान्छा फोहोर हुने समस्या, खाना बनाउन १।२ घण्टै लाग्ने गर्थे त्यो पुरा समाधान भयो ।धुवाँका कारण बिग्रीएको स्वास्थ्यमा पनि क्रमिक सुधार आयो, आर्थिक हिसावले पनि ग्याँस भन्दा सस्तो पर्यो, त्यसैले आजकल नछुट्ने गरी चुल्होसँग साइनो गासेको छु ।मेरो घरमा ग्याँस त भन्दिन तर दाउरा भने पूर्ण विस्थापित भएको छ।
उनको भनाईमा कार्यक्रमका सहभागि प्राय सबैले मौन समर्थन गरे र केही जिज्ञासा पनि राखे।सहभागिले चुल्हो प्रयोगसँगै बिजुलीको पैसा तुलनात्मक बढी आएको, ५ एम्पीयर क्षमताले नधानेको लगायत गुनाखो पोखे।
जसको प्रतिउत्तरमा चुल्हो प्रवद्र्धनात्मक कार्यक्रमले त्यसमा सहयोग गर्ने विश्वास थापाले दिलाइन् ।ग्याँसको तुलनामा चुल्होकोे प्रयोग ३५ प्रतिशतसम्म सस्तो पर्ने अनुसन्धानले देखाएको छ, सुरुमा उपभोक्ताको लगानीमा छुट दिनुपर्ने छ नै, पछि ग्राहकहरु आफै मेरो जस्तै लतमा पर्दछन् ।जसले देशमै उत्पादित जलविद्युत्लाई प्रोत्साहन गर्दछ, देशमै पैसा बस्छ उनले भनिन्।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, प्राक्टिकल एक्शन, धवलागिरी सामुदायिक स्रोत विकास केन्द्र एवम् एन्डेवको सयुक्त आयोजनामा सोमबार पोखरामा विद्युतीय चुल्हो प्रवद्र्धन विषयमा प्रादेशिक कार्यशाला भएको हो।
कार्यशाला उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले कार्यक्रम फलदायी रहेको जनाउँदै विद्युतीय चुल्होको प्रयोगलाई बढाउनुपर्ने बताए । ढिलो चाँडो सबैका घरमा विद्युतीय चुल्हो पु¥याउनुको विकल्प छैन, उनले भने, यो हरेक हिसावले नागरिक तथा राष्ट्र हितमा छ ।
मन्त्री वस्यालले विद्युत्को विकासमा आफू ७ वर्षसम्म लागि परेको स्मरण गर्दै प्रदेशले विद्युतीय सामग्री खरिदमा १ प्रतिशत मात्रै भन्सार लगाउने गरेको स्पष्ट पारे ।कार्यशालाका बीच प्यानल छलफल समेत भयो।
छलफलका क्रममा गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा.राजन भट्टराईले २०७५ देखि उज्यालो गण्डकी प्रदेश कार्यक्रम लागु रहेको सुनाउँदै हाल पालिकामा विद्युतीकरण नभएका ठाउँहरुको खोजी भइरहेको सुनाए।
विद्युत् विकास ऐन गण्डकीको संसदमा पेश भएको छ, चाँडै नै पास हुन्छ भने विश्वासमा हामी छौं उनले भनेः गाउँगाउँमा गुणस्तरीय विुद्युत् पु¥याउनुपर्ने दायित्व सरकारसँग छ।
त्यस्तै गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव टंकप्रसाद पाण्डेले विद्युतीय चुल्होबारे जनताको तहमा सचेतना फैलाउनुपर्ने बताउँदै त्यसको प्रयोगले राष्ट्र क्रमश समृद्ध बन्दै जाने औँल्याए ।चुल्होले जैविक तथा पेट्रोलियम उर्जाको प्रयोग घटाउँछ, यो हरेक हिसावले राम्रो हो।
नेपाल विद्युत् प्राधिकरण गण्डकी कार्यालय प्रमुख मनोजकुमार यादवले विद्युतीय चुल्हो प्रयोगका लागि विद्युत्को गुणस्तरीयता तथा आपूर्तिको सुनिश्चतता पहिलो पक्ष भएको औँल्याए ।उनले गण्डकीका ९८.८ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको स्पष्ट्र पार्दै प्रत्येक वर्ष माग बढ्दै गइरहेको सुनाए।गाउँमा विद्युतको माग घट्दो छ, शहरमा बढ्दो । गण्डकी क्षेत्रमा ट्रान्सर्फमर तथा लाइनमा कुनै समस्या नभएको उनले सुनाए ।
रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले विद्युतीय चुल्हो प्रयोग गर्न जनता तयार रहेको भएपनि चुल्लो खरिद एवम् त्यसका अन्य व्यवस्थापकीय कुरामा अनुदान दिनुपर्ने बताइन् ।पहिलो कुरा त अझै समुदायस्तरमा घनीभूत छलफल चलाउनुपर्दछ, गाउँघरमा जोडिएका ५ एम्पियर क्षमताको विद्युतले चुल्होे धान्नेवाला छैन, उनले भनिन्।
बिक्रेता रमा वाग्लेले चुल्होको गुणस्तरीयतामा ध्यान दिन उपभोक्तालाई सुझाइन् ।उनले भनिन् कम्पनी मात्रै भनेर हुँदैन चुल्होको क्षमता पनि चिन्नुपर्दछ ।
त्यस अवसरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण पाण्डे, सहजकर्ता पत्रकार कृष्णा पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी अध्यक्ष कालीदास सुवेदी, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष डा.बुद्धि थापा, परियोजना प्रवद्र्धक बासुदेव उपाध्याय, एसपी मल्टी टेडर्स प्रालिका संचालक बाबुराम भण्डारी, बिक्रेता सूर्य गौतम लगायतले पनि धारणा राखे ।
उनीहरुले चूल्हो संचालनका लागि बिजुली भरपर्दो तथा दिगो भएमा त्यसमार्फत ग्याँस तथा दाउरालाई विस्थापित गर्न सकिने, त्यसका लागि वन, उर्जा तथा कृषि मन्त्रालय बीच सहकार्य हुनुपर्ने, घरका वाइरिङ र मिटरबक्सको अध्ययन हुनुपर्ने भन्दै वैकल्पीक उर्जा प्रयोग गर्दा दुर्घटनाको जोखिम हुन नहुनेतर्फ सचेत गराए।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पुजा शर्माले स्वागत, महासचिव गोविन्द पौडेलले धन्यवाद ज्ञापन एवम् एसीन्टेन्स् डाइरेक्टर सुशीला गौतमले कार्यक्रम संचालन गरिन् ।