सराङकोटका दिदीबहिनीलाई कानुनी सचेतना

-


     अन्नपूर्ण खबर     
     चैत्र ४ गते २०८१ मा प्रकाशित


पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीलाई कानुनी सचेतना दिइएको छ।उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत वडाको आयोजना तथा सामाजिक विकास महाशाखाको व्यवस्थापनमा कार्यक्रम भएको हो।
२ चरणमा भएको कार्यक्रम अन्र्तगत वडाको तल्लो क्षेत्रलाई समेटी यही चैत २ गते तथा वडाको माथिल्लो क्षेत्रलाई समेटी आज मंगलबार तालिम दिइएको हो।
त्यस अवसरमा भनाई राख्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले महिलाको हक अधिकारको सवालमा वडा सचेत रहेको सुनाउँदै सबै मिली महिला अधिकार स्थापित गर्नुपर्ने बताए ।कानुनको अनविज्ञता अक्षम्य रहने उल्लेख गर्दै वडाध्यक्ष तिमिल्सीनाले आफूहरु सबल महिलाको पक्षको रहेको सुनाए ।
वडा सदस्य कल्पना ढकाल क्षत्रीले वडा, महिला दिदीबहिनीहरुलाई सक्षम बनाउने पक्षमा रहेको बताउँदै त्यस अन्र्तगत पछिल्लोपटक वक्तृत्वकला, हाजिरीजवाफ एवम् कानुनी सचेतना दिइएको स्पष्ट पारिन् ।महिलालाई दक्ष जनशक्तिका रुपमा बदल्नुपर्ने भन्दै सदस्य ढकाल क्षत्रीले समाजका हरेक क्षेत्रमा महिला नेतृत्व स्थापीत गर्नुपर्ने औँल्याइन्।
तालिममा अधिवक्ता एवम् पत्रकार सरिता तिमिल्सीना पंगेनीले महिलासँग सरोकार राख्ने कानुन, महिला तथा बालिकामाथि हुने गरेका हिंसा, महिलाको न्यायमा पहुँच लगायतका विषयमा सहजीकरण गरिन् ।उनले नेपाल कानुनी राज्य रहेको उल्लेख गर्दै कानुनको अज्ञानता छम्य नहुने स्पष्ट पारिन्।
पत्रकार श्रीभद्र पौडेलले कानुनको महत्व, आवश्यकता तथा मुद्धा लगायतका विषयमा सहजीकरण गरे।उनले कानुनको सम्बन्ध मानव तथा समाजसँग हुने औँल्याए।
त्यस अवसरमा सहभागिको तर्फबाट नमूना जागृति आमा समूह अध्यक्ष कमला गोतामे, सम्झौता आमा समूह पूर्व सचिव शोभा ढकाल, भृकुटी आमा समूहकी राधा थापाले तालिम फलदायी भएको प्रतिक्रिया दिए ।उनीहरुले वडाले महिलादिदीबहिनीहरुलाई समयसमयमा यस्ता तालिमहरु दिइरहनुपर्ने भनाई राखे।
वडा सदस्य क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम वडा सचिव हरिश्चन्द्र आचार्यले संचालन गरे ।