
अन्नपूर्ण गाउँपालिका ६ को नवनिर्मित वडा कार्यालय भवन बिहीबार उद्घाटन गरिएको छ ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जनताको सेवाका लागि कार्यालय बनाइएको स्पष्ट पार्दै गुनासो नआउने गरी कार्य गर्न वडाका जनप्रतिनिधि एवम् कर्मचारीलाई निर्देशन दिए ।वडा कार्यालयको जग्गा प्राप्तिका लागि ठूलो प्रयास भयो, अन्ततः हामी सफल भयौं, वडा कार्यालय बन्यो र सुरक्षाका लागि कम्पाउन्डीङ पनि गरेका छौं, अध्यक्ष केसीले भने जग्गादाताप्रति आभारी छु ।
उनले पालिका स्थित सबै वडा भवन बनेको जनाउँदै अव पालिकाको प्रशासनिक भवन निर्माणतर्फ ध्यान दिने बताए ।त्यसका लागि जग्गा प्राप्ति प्रक्रियामा कुरा अड्किएको उनले सुनाए । यो देशको वन कानुन मन्त्रीपरिषद् भन्दा पनि माथि रहेछ, प्रस्तावित माछापोखरीमा घेरै जटिलता छन्, त्यसैले उपयुक्त स्थानको खोजीमा पनि छौं, सकभर चालु वर्ष भित्रै शिलान्यास गर्न पाए हुन्थ्यो भन्ने हो, अध्यक्ष केसीले भने ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले सघीयता पछि देश विकासले फड्को मारेको जनाउँदै वडा कार्यालय निर्माण त्यसकै उपलब्धी भएको सुनाइन् ।उनले लुम्लेको विकासमा आफू प्रयासरत रहेको स्पष्ट पार्दै महिला संजाल मार्फत अव लुम्लेवासीलाई कानुनी सचेतना दिने अवगत गराइन् ।
पालिका प्रवक्ता समेत रहेका वडा नं.७ का अध्यक्ष भरतमान् गुरुङले नागरिकले घर आँगनबाट भेट्ने सरकार वडा भएको धारणा राख्दै लुम्ले विश्व बजारमा परिचित स्थान भएको औँल्याए।
वडा नं.५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)ले थुप्रै कानुनी जटिलता पार गर्दै वडा भवन बनेको स्पष्ट पार्दै अव सबैको ध्यान पालिका प्रशासनिक भवन निर्माणतर्फ हुनुपर्ने औँल्याए।
त्यस अवसरमा जिल्ला समन्वय समिति सदस्य गणेश जिसी, पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ, युवा नेता विवेक देवकोटा, एमाले गाउँपालिका अध्यक्ष चुडामणि अधिकारी, पालिका महिला संजाल अध्यक्ष कमला केसी लगायतले पनि धारणा राखे ।उनीहरुले गाउँपालिकाको विवादका कारण विगतमा वडा भवन नबनेको, जग्गा प्राप्ति प्रक्रिया निकै दुखदायी भएको, निर्माणसँगै लुम्लेवासीको सपना पुरा भएको उल्लेख गरे।
वडाध्यक्ष एकदेव देवकोटाले भवन निर्माणले लुम्लेवासीमा एकता छ भन्ने संदेश दिएको स्पष्ट पार्दै अव अधुरा योजना पूर्णताका लागि ध्यान दिने प्रतिबद्धता जनाए ।उनले ८२ लाख लागतमा अन्नपूर्ण २ स्थित विआर दाहाल कन्ट्रक्सन तथा सप्लायर्स प्रालिले भवन निर्माण सम्पन्न गरेको जानकारी दिए।
कार्यक्रमका बीच जग्गादाताहरु स्थानीय ओमप्रसाद देवकोटा, सजिता गुरुङ, लक्ष्मण देवकोटा र सीतादेवी देवकोटा दोसल्ला एवम् सम्मानपत्र सहित सम्मानित भए ।त्यस्तै लक्ष्मी देवकोटाको समूहले रत्यौली तथा रामचन्द्र देवकोटाको समूहले भजन प्रस्तुत गरे ।
वडाध्यक्ष देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य निलकण्ठ जैसीले स्वागत तथा वडा सचिव बुलन्दबहादुर भण्डारीले कार्यक्रम संचालन गरे।
यसअघि वडा कार्यालय लुम्ले स्थित सम्झौता सहकारी भवनमा संचालित थियो।