पाउँदुर आधारभूतको ६६ औं वार्षिकोत्सव

-


     श्रीभद्र पौडेल    
     फागुन १८ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम बिहीबार सम्पन्न भयो।

कार्यक्रममा भनाई राख्नुहुँदै प्रमुख अतिथी भवन निर्माण समितिका अध्यक्ष नीरकाजी गुरुङले विद्यालयले फड्को मार्दै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सबै मिली विद्यालयलाई नमूना बनाउनुपर्ने बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले गाउँपालिकाले जहाँ विद्यार्थी त्यहाँ शिक्षक नीति लिएको स्पष्ट पार्नुहुँदै पाउँदुर आधारभूतमा दरवन्दी थप गर्न पहल गर्ने बताउनुभयो।उहाँले पालिकाले वडा पकेट कार्यक्रम संचालन गरिरहेको भन्नुहुँदै अन्नपूर्णलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन आफूहरु लागि परिरहेको सुनाउनुभयो

वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलले पाउँदुर विद्यालय नमूना बन्दै गएकोमा खुशी व्यक्त गर्नुहुँदै शिक्षक थप गर्न पहल गरिने बताउनुभयो ।उहाँले अभिभावकले चाँसो दिएका विद्यालय मात्रै सफल बन्ने विश्वास व्यक्त गर्नुहुँदै पाउँदुरमा विद्यार्थी, शिक्षक तथा अभिभावकको त्रिकोणत्मक चाँसो पाइएको औँल्याउनुभयो।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आफ्नो संस्थाले ठीक विद्यालयमा सहयोग गरेको महशुस गर्ने गरेको सुनाउनुहुँदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।संस्थाले स्वास्थ्य, शिक्षा, तथा वातावरणको क्षेत्रमा कार्य गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष देवकोटाले सक्रियता तथा सहकार्य भएका संस्थाहरुलाई मात्रै सहयोग गर्ने स्पष्ट पार्नुभयो।

त्यस अवसरमा समाजसेवी कुलबहादुर गुरुङ(कुलु), पूर्व प्रअ नेत्रप्रसाद सुवेदी, संस्थापक शिक्षक विश्वमोहन गौचन, पूर्व शिक्षक महेश्वर पौडेल, पूर्व विद्यार्थी हरी शर्मा, गाउँ शिक्षा समिति सदस्य कमला केसी, धारापानी माविका प्रअ हरीप्रसाद भण्डारी, बालज्योति आधारभूतका अध्यक्ष डिल्लीराम पौडेल लगायतले पनि धारणा राख्नुभयो

उनीहरुले विद्यालयले पुनःजीवन पाएको स्पष्ट पार्नुहुँदै गुणस्तरीय शिक्षाका लागि सक्षम व्यवस्थापन चाहिने पाउँदुर विद्यालयले पुष्टि गरेको भनाई राख्नुभयो।

कार्यक्रमका बीच विद्यालयलाई सहयोग गर्नुहुने दर्जनौं संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो ।त्यस्तै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गर्नुका साथै विद्यार्थी तथा शिक्षकले एकल एवम् समूहगत रुपमा विभिन्न प्रस्तुति राख्नुभयो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले सबैको साथ सहयोगबाट विद्यालय अगाडि बढिरहेको चर्चा गर्नुहुँदै साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो।

प्रधानाध्यापक वसन्ती देवकोटाले विद्यालयलाई सिक्ने सिकाउने थलोका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्नुभयो ।उहाँले विद्यार्थीको जन्मदिनमा गमलामा फूल सार्ने संस्कारको सरुवात गरिएको भन्नुहुँदै विद्यालयले आफ्नै वस संचालन गर्नुपर्ने औँल्याउनुभयो।तिन महिनाको अन्तरालमा अभिभावक भेला गरी सुझाव लिने गरिएको उहाँको भनाई

विद्यालयका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक जनक पौडेलले स्वागत तथा शिक्षक राम अधिकारीले कार्यक्रम संचालन गर्नुभयो