
यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा हुन लागेको श्रीमद् भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सफल बनाउन पोखरेली संघ संस्था एवम् पत्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
हिजो भएको छलफलका बीच उनीहरुले सराङकोट पोखराकै महत्वपूर्ण ऐतिहासिक धरोहर रहेको ठहर गर्दै यज्ञलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय ८ शिवलिङ, एक सय ८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वार निर्माण भइसकेका छन्।ति संरचना निर्माण गर्न हालसम्म रु.३५ करोड बढी खर्च भइसकेको छ ।अव पनि थप १५ करोडका संरचना निर्माण गर्नुछ । साना किसान सहकारी संस्थाका प्रवन्धक इन्दिरा थापाले भनिन्ः यज्ञ समग्र पोखराकै इज्जत तथा स्वाभिमानको कुरा हो।
त्यसै पोखराका अग्रज पत्रकार कृष्ण थापाले यज्ञलाई सफल बनाउन सबैको समान भूमिका हुने उल्लेख गर्दै त्यसमा पत्रकारहरुको पनि साथ रहने प्रतिबद्धता जनाए।
यसैबीच सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका छन् ।
हिजो विहान सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न हिमशृङखलाको अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए ।
उनले पछिल्लो समय सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता थप बढाएको चर्चा गर्दै पोखराको पर्यटनमा सराङकोटको भूमिका महत्वपूर्ण रहदै आएको भनाई राखे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सराङकोट अव पर्यटकीय स्थल मात्रै नरही धामका रुपमा विकास हुँदै गएको स्पष्ट पारे।
वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले २० औं वर्षको निरन्तर प्रयासपछि सराङकोट टपमा विभिन्न संरचना निर्माण भएको स्पष्ट पार्दै टप क्षेत्रबाट नेपाल टेलिभिजनको टावर स्थानान्तरणका लागि संघ सरकारको ध्यानाकर्षण गराए ।
त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पत्राचार उपसमिति संयोजक सुशिल जिसी लगायतले सराङकोटको बृद्धि विकासमा तिनै तहका सरकारको ध्यानाकर्षण गराए।
सराङकोटमा निर्माण भएका संरचनाको आउँदो महाशिवरात्रि पर्वको अवसरमा यही फागुन १४ गते उद्घाटन गर्ने कार्य तालिका छ।यज्ञसँगै धार्मिकता तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।सराङकोटमा सडक मार्गका अलवा केवलकार मार्फत पनि पुग्न सकिन्छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।