
अन्नपूर्ण–१, नागडाँडा स्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः सुशिल भट्टचनको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।
शनिबार भएको अधिवेशनले राजकुमार गुरुङलाई उपाध्यक्ष, महेश्वर पौडेललाई सचिव तथा विरेन्द्र(विक्रम) गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै दिलबहादुर जिसी, प्रकाश गुरुङ, धर्मराज अधिकारी, निमा गुरुङ, चित्रमोहन सुवेदी, अम्मर परियार र कृष्ण पौडेल सदस्य छनोट भए।
सभाले गोविन्द सुवेदीको संयोजकत्वमा अमृत केसी सदस्य रहने गरी लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ ।कानुनी सल्लाहकार शिवहरी सुवेदी संयोजक तथा बालिका सुवेदी र फणिन्द्रप्रसाद पौडेल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो।
सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिखर सहकारी गाउँपालिकाकै नमूना सहकारी बन्दै गएकोमा खुशी व्यक्त गर्दै सहकारीमा पारदर्शिता तथा मितव्ययीता अपनाउनुपर्ने बताए।
उनले गाउँपालिकाले सहकारी सम्बन्धी कार्यविधि निर्माण गरिसकेको बताउँदै अब त्यसलाई कार्यान्वयनमा लगिने स्पष्ट पारे।सहकारीका ठगहरु देसैभर दौडीरहेको भन्दै अध्यक्ष केसीले आजकल मानिसमा इमान, जमान क्रमशः घट्दै गइरहेको औँल्याए।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले सहकारी संस्थामा सहकार्य हुनुपर्ने भन्दै सहकार्य नभएका सहकारी क्रमशः डुब्न सक्ने औँल्याइन् ।उनले कर्जा लगानी बारे समयमै सहकारीले अनुगमन गर्नुपर्ने उल्लेख गर्दै पालिकाको न्यायिक समितिमा सहकारी पीडितका उजुरी परेको प्रति सचेत गराइन्।
कानुनी सल्लाहकार शिवहरी सुवेदीले वित्तिय अनुशासनलाई ख्याल गर्दै सहकारी संचालन हुनुपर्ने स्पष्ट पार्दै सबै सेयर सदस्यले संस्थाप्रति अपनत्व लिनुपर्ने बताए।
अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारीले शिखर सहकारीमा पालिकाका धेरै युवा समेटिएकोमा खुशी व्यक्त गर्दै शिखरलाई अन्नपूर्णकै अब्बल सहकारी बनाउनुपर्ने धारणा राखे।
अन्नपूर्ण ३ का अध्यक्ष फणिन्द्रप्रसाद पौडेलले सहकारीका मालिक प्रत्येक सेयर सदस्य भएको भनाई राख्दै लेखा समितिबाट दिइएका सुझाव कार्यान्वयन हुनपर्ने औँल्याए।
कार्यक्रममा बीच उत्कृष्ट बचतकर्ता दैनिकतर्फ लोकराज भण्डारी, निर्मला पोखरेल, ईश्वरी भण्डारी, कृष्णप्रसाद पौडेल र सीता पौडेल, उत्कृष्ट बचतकर्ता वार्षिकतर्फ सविना श्रेष्ठ र युवराज गुरुङ, उत्कृष्ट कर्मचारीको रुपमा चुनकुमारी अधिकारी, जेष्ठ सदस्य जुठी गुरुङ सम्मानित भए।
त्यस्तै उत्कृष्ट कृषक सेयर सदस्यतर्फ घनश्याम दाहाल (नगद १० हजार सहित), उत्कृष्ट विद्यार्थीतर्फ प्रविण कुँवर र सविता पौडेल पुरस्कृत भए ।
सभाले अध्यक्ष सुशिल भट्टचन, सचिव शिवहरी सुवेदी, कोषाध्यक्ष विक्रम गुरुङ एवम् लेखा संयोजक गोविन्द सुवेदीद्वारा प्रस्तुत विषयगत प्रतिवेदन छलफल सहित अनुमोदन गर्यो।
सहकारी अध्यक्ष भट्टचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजकुमार गुरुङ(राजु)ले स्वागत, कर्मचारी पार्वती आचार्यले सात सिद्धान्त वाचन एवम् सचिव सुवेदीले कार्यक्रम संचालन गरे।