अन्नपूर्णले बनायो पालिका गान

-


     अन्नपूर्ण खबर     
     पौष २७ गते २०८१ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका गान निर्माण गरेको छ।शुक्रबार भएको गाउँसभाको १७ औं अधिवेशनले पालिका गान पारित गरेको हो ।

गानमा जीवन दाहालको संगीत, प्रेमराज अधिकारीका शब्द तथा जीवन दाहाल, बिमल परियार, नमराज केसी, प्रेमराज अधिकारी, टेकबहादुर क्षत्री, समिक्षा अधिकारी र सरीता अधिकारीले श्वर भरेका छन् ।

कुल एक मिनेट ५६ सेकेन्ड लम्बाईको उक्त गानलाई अन्नपूर्णको पहिचानसँग जोडिएको छ ।संगीत, शब्द लेखन तथा स्वर दिने कलाकार अधिकाशं अन्नपूर्णकै छन् ।गाउँपालिकाको चालु आ.वको नीति तथा कार्यक्रम एवम् बजेटमा समेटिए अनुसार उक्त गान निर्माण गरिएको हो।

सभा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका गान निर्माणसँगै गाउँपालिकावासीमा पालिका प्रति प्रेमभाव जाग्ने विश्वास व्यक्त गर्दै गानलाई हरेक औपचारिक कार्यक्रममा राष्ट्रिय गानसँगै बजाइने स्पष्ट पारे।उनले अन्नपूर्णवासी भएकोमा खुशी व्यक्त गर्दै अन्नपूर्णको सौन्दर्यलाई समृद्धिसँग जोड्नुपर्ने धारणा राखे ।

आफूहरु निर्वाचित भएसँगै ५० प्रतिशत अनुदानमा स्वास्थ्य विमा कार्यक्रम ल्याएको स्मरण गर्दै पालिका अध्यक्ष केसीले अपाङगलाई घरमै पुगी सेवा, वडामै पुगी सामाजिक सुरक्षा भत्ता वितरण, राजनीतिक दलसँगको नियमित अन्तक्र्रिया लगायतलाई उपलब्धि भएको सम्झिए।

अध्यक्ष केसीले आफ्नो पालिकामा एक्याप तथा वन जनताको विकास विरोधी भएको तर्क गर्दै जनजीविकाका सवालमा आफू निडर भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।उनले अन्नपूर्ण अस्पताल चाँडै संचालनमा आउने विश्वास दिलाउँदै पालिकाको प्रशासनिक भवन यसैवर्षभित्र शिलान्यास गरिने प्रतिबद्धता जनाए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले एक मतका साथ पालिकामा निर्णयहरु हुने गरेको अनुभव राख्दै महिलाहरुलाई सीपमूलक कार्यक्रमहरुमा जोड्न प्रयास भइरहेको बताइन् ।उनले पालिकामा सन्तोषजनक विकास भइरहेको दावी समेत गरिन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले अन्नपूर्णमा राजश्व संकलनमा कमी आएको स्पष्ट पार्दै चालु वर्ष हालसम्म ३० प्रतिशत वित्तिय प्रगति भएको सुनाए।

पालिका प्रवक्ता समेत रहेका अन्नपूर्ण ७ का अध्यक्ष भरतमान् गुरुङले पालिका गान निर्माण भएकोमा खुशी व्यक्त गर्दै संघ तथा प्रदेश सरकारबाट विकास बजेट बढाउन पहल गर्नुपर्ने औँल्याए।

अन्नपूर्ण ५ का वडाध्यक्ष जीवनाथ पौडेल(शंकर)ले गान निर्माणका सरोकारवाला सबैलाई धन्यवाद दिर्दै अव पालिकाको प्रशासनीक भवन निर्माणमा ढिलाई गर्न नहुने तर्क गरे।

अधिवेशनका बीच पालिका उपाध्यक्षद्वारा प्रस्तुत विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक तथा लेखा समिति संयोजक एवम् अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारीबाट प्रस्तुत गाउँपालिकाको आर्थिक प्रतिवेदन २०८१ बहुमतले पारित भयो।

त्यस्तै गानका संगीतकार जीवन दाहालले गान निर्माण गरी अन्नपूर्णले ऐतिहासिक कार्य गरेको धारणा राख्दै अव पालिका परिचय गीत बनाउने तयारीमा आफूहरु जुटेको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रशासकीय अधिकृत पोखरेलले गरे ।