नेपाल ड्रागन बोट संघ गण्डकीमा दीपक

-


     अन्नपूर्ण खबर     
     पौष १ गते २०८१ मा प्रकाशित


नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनले इ.दीपक सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ।

पोखरामा हालै सम्पन्न अधिवेशनले संघको उपाध्यक्षमा सावित्री पाठक (पोखरेल) र नवराज अधिकारी,  महासचिवमा रविन्द्रराज पौडेल, सचिवमा विवेक भुजेल चयन गरेको हो ।

त्यसैगरी प्रकाश थापा, दिनेश वराल, रविन ढकाल, चन्द्रप्रसाद गुरुङ, हेमबहादुर गुरुङ, बलराम गिरी, रामराज सुवेदी, नवराज अधिकारी, दुर्गा सुवेदी, मिलनजंग कुंवर र विकास पहारीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

अधिवेशन उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर धनराज आचार्यले ड्रागन बोट खेल ओलम्पिकमा समेत खेलिने र सबै देशहरुमा लोकप्रिय बन्दै गएको बताए ।उनले नेपालमा समेत यस खेलको प्रवद्र्धन तथा विकासका लागि सामुहिक प्रयास आवश्यक रहेको औंल्याए ।

नेपालमा ड्रागन बोट खेल प्रवेश पाएसँगै अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाएको उल्लेख गर्दै मेयर आचार्यले पोखरामा आयोजना हुने दोस्रो संस्करणको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सफल बनाउन जुट्न समेत आग्रह गरे ।

उद्घाटन कार्यक्रममा तदर्थ समितिका अध्यक्ष सुवेदीले वार्षिक योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले समेत नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका।

मित्रराष्ट्र चिनको परम्परामा आधारित ड्रागन बोट रेस गत वर्षबाट नेपालमा सुरुवात भएको हो। नेपालमा यो प्रतियोगिता हरेक वर्ष डिसेम्बर महिनाको अन्तिममा आयोजना हुने गरी क्यालेण्डर तय गरिएको छ ।

 यो वर्ष हुने प्रतिस्पर्धामा नेपालसहित चिन र सिङापुरका खेलाडि समेत पोखरा आउने जनाइएको छ । यस वर्ष डिसेम्वरको २८ र २९ मा तय गरिएको प्रतियोगिताका लागि चिनियाँ प्राविधिक र खेलाडीसहित एक सय ५० जना चार्टर विमान मार्फत पोखरा आउने तय भइसकेको उल्लेख छ ।

साधारणसभाले संघको विधान पनि सर्वसम्मत पारित गरेको छ ।