
पुण्यप्रसाद भट्टराईद्वारा लिखित ‘गण्डकी कविता मञ्जरी’ सङ्ग्रहको लोकार्पण गरिएको छ ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिबार भएको एक कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरिएको हो।
सङ्ग्रह लोकार्पण गर्दै प्रा.डा रामप्रसाद भट्टराईले कृतिमा पूर्वीय दर्शन तथा जीवन जगतका विभिन्न पक्षको चित्रण भएको औँल्याए ।उनले कृतिभित्र विषयगत विविधता, छन्दगत अनेकता, शिल्पगत कुशलता रहेको स्पष्ट पार्दै कृतिकारलाई साहित्य सिर्जनामा लागिरहन सुझाव दिए ।
सष्ट्रा पुण्यप्रसाद भट्टराईले नेपाली साहित्यमा लेखकीय विकृति भित्रिरहेकोमा दुःख व्यक्त गर्दै त्यसलाई सच्चाउन सामुहिक प्रयास गर्नुपर्ने जनाए ।उनले सकेसम्म लेखनलाई निरन्तरता दिने स्पष्ट पार्दै आगामि सिर्जनालाई थप परिष्कृत बनाउने प्रतिबद्धता जनाए।
प्रकाशकको तर्फबाट लेखकका छोरा विजय भट्टराईले लेखकले विद्यार्थी कालदेखि ७ दशकको अवधिमा भोगी लेखेका कविता सङग्रहमा समेटिएको उल्लेख गर्दै प्रकाशोन्मुख कृतिलाई क्रमशः प्रकाशन गर्दै लगिने धारणा राखे ।
समीक्षक प्रा.डा जगन्नाथ रेग्मीले गण्डकी कविता मञ्जरीमा सरल, भावपरक कविता सङग्रह गरिएको बताए।उनले सङग्रहका कवितामा छन्दमा विविधता रहेको औँल्याउँदै शीर्षक अनुसार सान्दर्भिक तस्विर राखिनु महत्वपूर्ण भएको सुनाए।
समीक्षक रेग्मीले सङग्रहको शीर्षकले समग्रतालाई प्रतिनिधिन्व नगरेको स्पष्ट पार्दै कतिपय शब्द विन्यासमा कमजोरी देखिएकोे भनाई राखे ।उनले कवितालाई सुत्रात्मक बनाउनुपर्ने भन्दै मानक शब्द प्रयोगलाई समेत ख्याल गर्नुपर्ने सुझाए।
त्यस अवसरमा शिव त्रिपाठी, वसन्त चालिसे, श्रीराम सिग्देल, कमला भट्टराई, एड्मिन भट्टराई लगायतले रचना वाचन गरे ।त्यस्तै लेखकले सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्मालाई विद्यावारिधी हासिल गरेकोमा दोसल्ला सहित सम्मान गरे।
सङग्रहमा सामाजिक संस्कार तथा संस्कृति, उपदेश, देशप्रेम, पारिवारिक, तीर्थब्रत, सामाजिक विकृति तथा व्यङग्य लगायत विषयवस्तु समेटीएका छन्दोवद्ध कविता सङग्रहित छन् ।
प्रतिष्ठानका अध्यक्ष डा.शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य डा.पीताम्बर पौडेलले स्वागत तथा सचिव डा. भानुभक्त आचार्यले कार्यक्रम संचालन गरे।