
लीबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ।
संस्थाले सोमबार एक कार्यक्रमका बीच पर्यावरणीय कृषि प्रवद्र्धन परियोजना अन्तर्गत उक्त केन्द्रलाई प्लाष्टिक क्रेट, जोख्ने मेसिन, प्लास्टिक कार्पेट, दराज, कुर्चि, टेवल, कृषि उपज राख्ने र्याक लगायतका सामग्री प्रदान गरेको हो ।

लीबर्डका वरिष्ट कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले रु.२ लाख ११ हजार ८ सय ८९ का ति सामग्री गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतलाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा भनाई राख्नु हुँदै गाउँपालिका अध्यक्ष केसीले पालिकाको कृषि क्षेत्रमा लीबर्डको योगदान रहदै आएको स्मरण गर्नुहुँदै सहयोग प्रति आभार जनाउनुभयो।कृषि मार्फत समृद्धि हासिल गर्न सकिने स्पष्ट पार्नुहुँदै अध्यक्ष केसीले संकलन केन्द्रमा शौचालय निर्माण तथा खानेपानी व्यवस्थापनको कार्य भइरहेको उल्लेख गर्नुभयो ।

आफू नेतृत्वको पालिका किसानको पक्षमा रहेको सुनाउनुहुँदै अध्यक्ष केसीले पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन खोजिएको धारणा राख्नुभयो।गाउँपालिकाका ढिकुरपोखरी, लुम्ले, सल्यान दाङसिङ लगायतका क्षेत्रमा फलेको तरकारीलाई संकलन केन्द्र मार्फत घान्द्रुक एवम् अन्नपूर्ण आधार शिविरसम्मका होटलहरुमा पु¥याइने उहाँको भनाई छ ।

सामग्री हस्तान्तरण गर्नुहुँदै लीबर्डका वरिष्ट कार्यक्रम अधिकृत पौडेलले स्थानीय तहलाई कृषिमा बलियो बनाउने उद्देश्यका साथ सहयोग गरिएको स्पष्ट पार्नुहुँदै परियोजना अन्तर्गत कर्मचारी व्यवस्थापन समेत गरिने उल्लेख गर्नुभयो।उहाँले सक्रियताका साथ केन्द्र संचालन गर्नुपर्ने धारणा राख्नुहुँदै आगामि दिनहरुमा पनि सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

यसैबीच लीबर्डले प्रदान गरेका ति सामग्री गाउँपालिकाले सोमबारै संकलन केन्द्र संचालन उपसमितिलाई हस्तान्तरण गरेको छ।
सामग्री ग्रहण गर्नुहुँदै उपसमिति संयोजक बोधराज भण्डारी(राजु)ले प्राप्त सामाग्रीको सदुपयोग गरिने स्पष्ट पार्नुहुँदै तिहार अगावै केन्द्र संचालन गरिने प्रतिवद्धता जनाउनुभयो।

चुहिनेपहरा केन्द्र संचालनका लागि राजुको अध्यक्षतामा उपसमिति गठन गरिएको छ ।जसको सचिवमा मेघनाथ सुवेदी, कोषाध्यक्षमा तुलसी भण्डारी हुनुहुन्छ।त्यस्तै गोविन्दप्रसाद अधिकारी, शोभाखर अधिकारी, बुद्धिमाया दाहाल, नविन दाहाल, लोकराज दाहाल, स्मृति विक र टीकादेवी भण्डारीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

केन्द्र संचालनका लागि मराउँचे स्थित प्रगतिशील कृषि सहकारी, रयालेको खुशी नमूना बहुउद्देश्यीय सहकारी, ढिकुरपोखरी स्थित भविष्य हाम्रो हातमा कृषि सहकारी तथा सेराचौर कृषि सहकारीसँग समन्वय गरिएको गाउँपालिकाले जनाएको छ ।त्यस्तै भदौरेको पञ्चकन्या कृषि सहकारी तथा लुम्ले स्थित कृषि सहकारीसँग पनि समन्वयको तयारी भइरहेको छ ।

यसअघि पनि उक्त संकलन केन्द्र निर्माणका लागि प्रारम्भिक चरणमा लीबर्डले रु.१ लाख सहयोग गरेको थियो । लीबर्डको सहयोगसँगै दीर्घकालिन रुपमा केन्द्र संचालन हुने आशा बढेको संकलन केन्द्र संचालन उपसमितिका सचिव मेघनाथ सुवेदीले बताउनुभयो।