
हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभा बिहीबारदेखि सुरु भएको छ।
सभा उद्घाटन गर्दै नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडका संचालक कमला गिरीले वर्तमान् समय सहकारीमैत्री नभएको दावी गर्दै सबै सहकारी संस्थालाई एउटै डालोमा हाली गरिने निरन्तरको प्रहार असहीय भएको बताइन् ।

उनले गौरीशंकर सहकारी नीति, विधि तथा प्रविधिमा चलेको सुचकाङकहरुले देखाउने स्पष्ट पार्दै गौरीशंकर सहकारी क्रमश अब्बल बन्दै गएको धारणा राखिन्।नाफामुखी भन्दा सेवामुखी व्यवसायमा केन्द्रीत रहनु गौरीशंकरको सवल पक्ष भएको उनको धारणा छ ।

कास्की बचत संघका कोषाध्यक्ष समेत रहेका सहकारीका निवर्तमान् अध्यक्ष केशवशरण पौडेलले गौरीशंकर क्रमश अब्बल सहकारीका रुपमा स्थापित हुँदै गएको तर्क गर्दै सहकारीमा सहकार्यको भावना मजबुत हुनुपर्ने औँल्याए।
संस्थापक अध्यक्ष डबलबहादुर कुँवरले थोरै पुँजीबाट सुरु गरिएको सहकारी हाल क्रमशः विशाल हुँदै गएकोमा खुशी व्यक्त गर्दै संस्था स्थापनाकालिन समयको स्मरण गरे।

सहकारीका अध्यक्ष रुद्रनाथ पौडेलले संस्थाहरु स्वःनियममा चल्नुपर्ने भन्दै लाभाशं बाढ्ने होटवाजीमा अधिकाशं सहकारी लाग्नु दुःखद् भएको औँल्याए ।उनले शेयर सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यका साथ संस्थाले कर्जाको व्याजदरलाई एक अङकमा झारेको स्पष्ट पार्दै त्यसका लागि मापदण्ड भने पुरा गर्नुपर्ने जनाए ।

संस्थाका समग्र गतिविधिबारे प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत डम्बरसिंह बस्नेतले दोहारो तथा निस्कृय सदस्यता त्याग गरेको खण्डमा सहकारी अझै सवल बन्दै जाने धारणा राख्दै भाखा नाघेको ऋण व्यवस्थापन प्रमुख चुनौति रहेको सुनाए ।
त्यस अवसरमा अध्यक्ष रुद्रनाथ पौडेल, सचिव घनश्याम तिमिल्सीना, कोषाध्यक्ष विष्णुप्रसाद पौडेल तथा लेखा सुपरिवेक्षण समिति संयोजक टिकाराम बास्तोलाद्वारा प्रस्तुत विषयगत वार्षिक प्रतिवेदनहरु छलफल सहित अनुमोदन भए।
सहकारीले शेयर सदस्यलाई ४ इकाईमा विभाजन गरी बिहीबार साधारणसभा सुरु गरेकोमा शनिबार इकाई प्रमाणित सभा मार्फत समापन गर्ने कार्यतालिका छ । कुल रु.साढे १४ करोड शेयर पूँजी रहेको उक्त सहकारीको कुल सम्पती÷दायित्व १ अर्व ५१ करोड छ ।पोखराको चाउथेमा सेवा केन्द्र संचालन गरिरहेको उक्त सहकारीमा हाल ७ हजार १ सय ४५ शेयर सदस्य छन् ।

सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत तथा सचिव तिमिल्सीना एवम् सहसचिव कृष्णबहादुर थापाले संयुक्त रुपमा कार्यक्रम संचालन गरे।