
१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८० को आय–व्यय बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
महोत्सवमा कुल २४ लाख ७० हजार ९ सय ६० आम्दानी भएकोमा खर्च कटाएर २ लाख ७७ हजार २ सय २१ बचत हुन आएको महोत्सवका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए ।त्यस अवसरमा चाडपर्वको शुभकामना आदानप्रदान समेत गरियो ।
वडा सदस्य कृष्णबहादुर कुँवरले आयव्यय सार्वजनिक हुनु सुशासनको महत्वपूर्ण पक्ष भएको बताउँदै अव क्लवले बहुउद्देश्यीय भवन निर्माण तथा खेलमैदान स्तरउन्नतीमा ध्यान दिनुपर्ने औँल्याए ।वडावासी महिनौं खटेर महोत्सव सम्पन्न हुने गरेको भन्दै वडा सदस्य कुँवरले कृषि उपजमा नाममा गरिने महत्वको छुट्टै महत्व रहने चर्चा गरे।
क्लवका पूर्व अध्यक्ष जगतबहादुर थापाले बहुउद्देश्यीय भवन निर्माणमा अव सबैको ध्यान जानुपर्ने भन्दै आलु महोत्सवले निरन्तरता पाउनु सुःखद् भएको सुनाए ।उनले हरेक कार्यमा पारदर्शीता हुनुपर्ने भन्दै विभिन्न आलु महोत्सव मार्फत सङकलीत रकमको प्रयोग अवस्थाबारे जिज्ञासा राखे ।
विष्णुपादुका माविका प्रधानाध्यापक दीपकराज पौडेलले आलु महोत्सव हेमजा मात्र नभई समग्र पोखराकै ब्राण्ड बनेको स्पष्ट पार्दै महोत्सवको निरन्तरताका लागि कृषियोग्य जमिनको संरक्षण हुनुपर्ने औँल्याए ।
त्यस अवसरमा नर्वद्देश्वर तथा राधाकृष्ण मन्दिरका अध्यक्ष दानबहादुर थापा, राधाकृष्ण आमा समूहकी अध्यक्ष सिर्जना सापकोटा, क्लवका पूर्व अध्यक्षद्वय रमेश कार्की र मानबहादुर कार्की, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना, समाजसेवी मदन थापा, महिला सञ्जाल सचिव उमा भुर्तेल, पूर्व सदस्य ढकबहादुर थापा, मिडिया संयोजक श्रीभद्र पौडेल लगायतले धारणा राख्दै नजिकिएका चाडपर्वको शुभकामना दिए ।
क्लव अध्यक्ष सुविन श्रेष्ठले सबैको सहयोगबाट महोत्सव सम्पन्न गरिदै आइएको स्पष्ट पार्दै अव भवन निर्माण तथा खेलमैदान स्तरउन्नतीमा ध्यान जानुपर्ने धारणा राखे ।विष्णुपादुका खेल मैदानले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको उनको भनाई छ ।
क्लव सचिव वसन्तकुमार श्रेष्ठले हेमजावासीको अथक मेहनतबाट महोत्सव सञ्चालन हुने गरेको स्पष्ट पार्दै महोत्सवलाई निरन्तरता दिन स्थायी स्रोतको खोजी गर्नुपर्ने उल्लेख गरे।
‘सुन्दर ठाउँ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एकः परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा गत चैत २५ गतेबाट वैशाख ३ गतेसम्म १२ औं संस्करणको आलु महोत्सव भएको थियो ।