मट्टिखानमा तीज उत्सव

- प्रदेशसभा सचिव हरिराजद्वारा उद्घाटन

-


     अन्नपूर्ण खबर     
     भाद्र २२ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश सभा सचिव हरिराज पोख्रेलले सङघ, प्रदेश तथा स्थानीय तहको सामूहिक प्रयासबाट मात्रै जनताले अनुभूति गर्ने खालको विकास र परिवर्तन सम्भव हुने बताउनुभयो ।

शुक्रवार फेदीखोला गाउँपालिका १ मा जेन्टलमेन युवा क्लबले आयोजना गरेको मट्टिखान तीज उत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सचिव पोख्रेलले त्यस्तो बताउनुभएको हो । उहाँले पर्यटकीय क्षेत्र मट्टिखानको विकासको लागि विगतका दिनहरुमा विभिन्न गतिविधि सञ्चालन गरेकोमा आगामि दिनमा पनि स्थानीय, प्रदेश तथा संघ सरकारसँग समन्वय गरिरहनुपर्ने जनाउनुभयो।

 पछिल्लो समय मुलुकमा युवा शक्ति पलायन हुँदै गइरहेको अवस्थामा युवा लक्षित कार्यक्रम सञ्चालन गरी पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गर्दै युवाहरुलाई आयआर्जनको बाटोतर्फ लैजान सके युवा पलायनलाई केही हदसम्म रोक्न सफल हुने उहाँको भनाई थियो ।

 हाल उक्त क्षेत्रमा एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नति गर्ने लगायतका कार्यहरू तत्कालै गर्नुपर्ने देखिएको भन्दै  सचिव पोख्रेलले अवको ध्यान त्यसतर्फ जानुपर्ने जनाउनुभयो ।

 कार्यक्रममा स्थानीयले बाजागाजा सहित प्रदेश सभा सचिव पोख्रेललाई स्वागत गरेका थिए । भाद्र  १९ देखि २१ सम्म तिन दिन संचालन भएको उक्त उत्सवमा खुला तीजगीत प्रतियोगिता, खुला भलिबल प्रतियोगिता, महिला रसि तान्ने प्रतियोगिता, म्युजिकल चियर लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।