झोवाङमा अखण्ड हरिकृतन हुने

-


     श्रीभद्र पौडेल    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


कास्कीको अन्नपूर्ण गाउँपालिका –५, झोवाङमा अखण्ड हरिकृतन हुने भएको छ ।

त्यहाँ स्थित शिवालय मन्दिर संरक्षण समितिको आयोजनामा विगत वर्षमा जस्तै यस वर्षपनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार हरिकृतन हुने समितिका सचिव निर्मल पौडेलले जानकारी दिनुभयो । उक्त दिन त्यहाँ श्रीकृष्ण भगवान्को पुजा आराधाना एवम् प्रवचन समेत गरिनेछ ।

अन्याय, अत्याचार तथा राक्षसी प्रवृतिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारको रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्म गरेको जनविश्वास छ ।

 त्यसप्रति मानव समुदायलाई प्रेरित गरी जगत धर्म रक्षाका निमित्त तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृतिको विनाश एवम् सज्जनहरुको संरक्षण सम्बद्र्धन गर्न उक्त धार्मिक कार्य फलदायी हुने अपेक्षा गरिएको छ । त्यसका साथै झोवाङ गाउँलाई धार्मिक तथा सांस्कृतिक पहिचान दिलाउने स्थानीयको विश्वास छ ।

यस्ता खालका धार्मिक कार्यले सदा धर्मको पालना गर्नुका साथै मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिने समितिका अध्यक्ष प्रमोदकुमार पौडेलको भनाई छ ।

आयोजकले अखण्ड हरीकृतनलाई सभ्य एवम् भब्य रुपमा सफल पार्न भक्तजनलाई उपस्थिति भई अखण्ड कृतन श्रवण गर्न अनुरोध समेत गरेको छ ।

करिव २५ वर्ष अगाडि झोवाङ गाउँमा परापुर्व कालदेखि निरन्तर संचालन गरिदै आएको उक्त अखण्ड हरिकृतन विविध कारणले रोकिएकोमा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणोता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्ठमीको मध्यरातमा भएको थियो । उक्त दिन अहिले यहि भदौं १० गते पर्न गएकोमा त्यस दिनलाई श्रीकृष्ण जन्माष्ठमी तथा रातलाई मोहरात्री भन्ने गरिदै आइएको छ ।