तिब्रेकोट मणि पोखराकै नमूना पर्यटकीय क्षेत्र

-


     श्रीभद्र पौडेल    
     भाद्र ५ गते २०८१ मा प्रकाशित


पोखरा–२५, हेमजा स्थित तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ ।

                मन्दिर तथा पार्क उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्नुहुँदै त्यसलाई समुदायको अग्रसरतामा क्रमश पूर्णता दिने बताउनुभयो ।

                प्रमुख आचार्यले हेमजावासीलाई उत्साहका साथ कार्य गर्न अनुरोध गर्नुहुँदै महानगरका २ दर्जन बढी स्थानमा पर्यटकीय पुर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।उहाँले पर्यटनलाई आर्थिक पक्षसँग जोड्नुपर्ने भन्दै उक्त स्थानको ऐतिहासिकता खोज्न स्थानीयलाई सुझाउनुभयो।

                महानगर प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष मोतिलाल तिम्सिनाले परापूर्व कालदेखि हेमजावासीको आस्थाको धरोहरका रुपमा तिब्रेकोट मणि क्षेत्रलाई चिनाउँदै त्यसलाई पोखराकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास भइरहेको धारणा राख्नुभयो।

                वडाले तिब्रेकोट मणि तथा सुईखेत खोलालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ प्राथमिकतामा राखेको बताउनुहुँदै वडाध्यक्ष तिमिल्सीनाले ति क्षेत्रमा वृहत परियोजना निर्माण गरी लागु गरिने प्रतिबद्धता जनाउनुभयो । तिब्रेकोट मणि क्षेत्र दृष्यावलोकनका लागि पनि उचित रहेको उहाँको निष्कर्ष छ।

                तिब्रेकोट रुद्रमहादेव मणि धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष विशालजंग कुँवरले पोखरा महानगर, गण्डकी प्रदेश सरकार तथा स्थानीयको सहभागितामा तिब्रेकोट मणि क्षेत्रमा पूर्वाधार निर्माण गरिएको स्पष्ट पार्नुहुँदै उक्त स्थान पुरातात्विक रहेको उल्लेख गर्नुभयो ।उहाँले जगत गुरुको संकल्प अनुसार त्यस क्षेत्रमा एक सय ८ फिट अग्लो गणेशको मुर्ति स्थापना गर्ने लक्ष्य राखिएको पनि सुनाउनुभयो ।

                तिब्रेकोट मणि क्षेत्र मर्दी हिमाल पदमार्गको प्रस्तान विन्दु अन्तर्गत पर्दछ । त्यहाँ निर्माण गरिएका संरचनाले पदमार्गको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

सो क्षेत्रमा पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको सहयोगमा रेलिङ सहितको पदमार्ग स्तरउन्नतीका अलवा भ्यू टावर, हिमाल पहाडको समिपमा शिव पार्वतीको मुर्ति, हरित पार्क, योगशाला, झुला(पिङ), रुद्रमहादेव मन्दिर लगायतका संरचना निर्माण गरिएको हो ।

 ति संरचना निर्माणका लागि हालसम्म गण्डकी प्रदेश सरकारको रु.३४ लाख, पोखरा महानगरपालिकाबाट रु.२७ लाख तथा स्थानीयको जनसहभागिता परेको छ । योजनालाई पूर्णता दिन करिव ५ करोड रकम लाग्ने अनुमान पनि छ । पदमार्ग क्षेत्रमा पोखरा महानगरपालिकाले अन्य गौरवका योजनाहरु पनि निर्माण गर्ने उल्लेख गरेको छ ।

पदमार्ग अन्तर्गत यतिवेला मेलवोटबाट अस्तामसम्मको करिव ७ किलोमिटर खण्डमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण कार्यहरु भइरहेका छन् । सो खण्डमा पर्ने ‘सुनझाँक्रीको थान, लालीगुराँसको जङगल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले यसमार्गमा पर्यटकलाई आनन्दित तुल्याउने विश्वास गरिन्छ ।

कार्यक्रमका बीच भजनकिर्तन समेत भयो ।निरन्तरको वर्षाले कार्यक्रमलाई केही प्राभावित समेत तुल्यायो ।

धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष विशालजंग कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव कृष्णबहादुर कुँवरले संचालन गर्नुभयो।