
पोखरा २५, हेमजा स्थित विष्णुपादुका माविको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम मंगलबार भएको छ ।

वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले विद्यालय शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै स्वदेशमै रोजगारी मिल्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कक्षा १२ सम्म शिक्षा आर्जन गरी विदेश जाने परिपार्टी गलत भएको औँल्याउँदै सदस्य वैरागीले मातृभुमिलाई माया गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।

कास्की खण्डको मध्यपहाडी लोकमार्ग, समग्र शिक्षा क्षेत्र लगायत स्थानीय तहका समस्या समाधान गर्न आफूले सहजीकरण गरिरहेको स्मरण गर्नुहुँदै सदस्य वैरागीले अधिकार प्राप्ति जस्तै कर्तव्य निर्वाह प्रति पनि सबै सचेत हुनुपर्ने औँल्याउनुभयो ।

महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले शैक्षिक क्षेत्रलाई राजनीति मुक्त बनाउनुपर्ने धारणा राख्नुहुँदै प्रधानाध्यापकलाई थप सक्रिय बनाउने उद्देश्यका साथ महानगरले गतिविधि अगाडि बढाइरहेको चर्चा गर्नुभयो ।

धेरैको सहयोगका कारण विष्णुपादुका मावि वर्तमान अवस्थामा आउन सफल भएको स्पष्ट पार्नुहुँदै वडाध्यक्ष तिमिल्सीनाले वडा कार्यालय विद्यालय वस संचालनको एकीकृत प्रणालीको पक्षमा रहेको सुनाउनुभयो ।

चमेना गृह निर्माण, विद्यालय वस संचालनमा सहयोग गरेजस्तै यस वर्ष वास्केटबल कोर्ट निर्माणमा महानगरको साथ रहने उहाँको भनाई छ ।

शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण भण्डारीले सरोकारवाला सबैको प्रयासमा गुणस्तरीय शिक्षा दिनुपर्ने भन्दै बालबालिकाको भविष्य माथि खेलबाड गर्ने अधिकार कसैसँग नभएको स्पष्ट पार्नुभयो ।

प्रधानाध्यापक दिपकराज पौडेलले विद्यालयको समग्र अवस्था माथि प्रकाश पार्नुहुँदै समय सापेक्ष प्राविधिक शिक्षा दिने लक्ष्य राखिएको जनाउनुभयो । उहाँले निःशुल्क सेनीटरी प्याड वितरण, आईसीटि ल्याब तथा विद्यालय वस संचालनलाई पछिल्लो एक वर्षको उपलब्धि सम्झनुभयो ।

त्यसका साथै विद्यार्थी टिकाउन, साना विद्यार्थीको लागि फर्निचर व्यवस्थापन गर्न समस्या रहेको जनाउँदै प्रधानाध्यापक पौडेलले प्रशासनीक हलको खाँचो समेत औँल्याउनुभयो ।

स्वर्ण महोत्सव अर्थ संकलन समितिका संयोजक मदन थापाले विद्यालयमा राजनीति नगर्न सुझाव दिनुहुँदै गरिव अभिभावकका बच्चाको भविष्यमाथि संवेदशील बन्न आग्रह गर्नुभयो ।

कार्यक्रमका बीच विद्यालय संचालनमा सहयोग पु¥याउनुहुने विभिन्न संघसंस्था, व्यक्ति एवम् उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरियो ।

त्यस्तै स्काउटका विद्यार्थी लगायतले विभिन्न सांस्कृतिक प्रस्तुति राख्नुभयो । त्यस्तै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो ।

विद्यालयका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मावि इञ्चार्ज गणेश थापाले स्वागत तथा सूचना अधिकारी मीनबहादुर थापा एवम् शिक्षक लक्ष्मी सुवेदीले संयुक्त रुपमा कार्यक्रम संचालन गर्नुभयो ।
