पोखरामा पुत्रदा एकादशी महात्म्य प्रवचन

-


     श्रीभद्र पौडेल    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित


वैदिक धर्म परिषद् कास्की तथा विश्व हिन्दु महासंघ गण्डकीको सहआयोजनामा पस्र्याङ स्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा आज पुत्रदा एकादशी महात्म्य प्रवचन भएको छ।

 मिलन केन्द्रको व्यवस्थापनमा भएको उक्त प्रवचन समारोहमा प्रमुख वाचक तनहुँ व्यास आश्रमका पीठाधीस क्रितन शिरोमणि दामोदर बाबाले भगवान् विष्णुको महिमाबारे प्रकाश पार्नुभयो ।उहाँले एकादशी व्रत र विष्णुको उपासनाले इन्द्रीयहरुबाट उत्पन्न हुन सक्ने काम, क्रोध, लोभ, मोह जस्ता नकारात्मक भावनाहरुलाई बसमा राख्न सहयोग पुग्ने जनाउनुभयो।

उक्त समारोहमा विश्व हिन्दु महासंघ गण्डकीका अध्यक्ष मुक्तिराम अधिकारी, महासंघकी मातृशक्ति परिचालन समिति उपाध्यक्ष पार्वता पौडेल, धर्मसभा नेपालका केन्द्रीय सदस्य पं.तारानाथ शर्मा, योगदा सत्संग गाईघाटका अध्यक्ष तीर्थराज पौडेल, मिलन केन्द्रका अध्यक्ष विश्वनाथ पराजुली लगायतले धर्मको महत्वमाथि प्रकाश पार्दै शुभकामना दिनुभयो।

 एकादशीको दिन शुक्रबार स्वर्गद्वारी महाप्रभुको जन्म जयन्ती समेत परेकाले वक्ताहरुले एकादशी र भगवान् विष्णुको उपासना एवम् महत्वमाथि प्रकाश पार्नुका साथै महाप्रभुको योगदानको स्मरण समेत गर्नुभयो।

 मिलन केन्द्रका अध्यक्ष शर्माले सनातन धर्म संस्कृतिको जगेर्ना गर्नु सबै सनातनीको दायित्व भएको औल्याउँदै महात्म्य प्रवचन कार्य चतुर्मास व्रत समाप्ती सम्मका प्रत्येक एकादशीमा गरिने धारणा राख्नुभयो ।

त्यस अवसरमा परिषद्का उपाध्यक्ष भोलाजंग सुवेदी, सहसचिव ज्यो.हरिश्चन्द्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद वस्ताकोटी, कर्ता रामु गिरी, भजन कर्ता नारायण ढुङगाना, गजेन्द्रनारायण खत्री, सुभद्रा कोइराला, बगैँचा पार्कका अध्यक्ष शिवप्रसाद पराजुली, महासंघ गण्डकी सदस्य भरतजंग कुँवर, लक्ष्मी लामिछाने लगायतका महानुभावको सहभागिता रहयो।

कार्यक्रमका बीच वैदिक धर्म परिषद् तथा विश्वहिन्दु महासंघका नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरियो ।

परिषद्का अध्यक्ष वेदनिधि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा परिषद सचिव सूर्यप्रसाद भण्डारीले स्वागत, पं. भुवानी बरालले स्वस्ति वाचन एवम् विश्वहिन्दु महासंघका सचिव डिल्लीराम भट्टराईले कार्यक्रम संचालन गर्नुभयो ।

यहि भाद्र १४ गते अजा एकादशीमा आगामी प्रवचन गरिने जनाइएको छ।