दुर्गाभवानीका विद्यार्थीको स्वास्थ्य परीक्षण

-


     श्रीभद्र पौडेल    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण–२, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयमा स्वास्थ्य शिविर भएको छ ।

        पोखरा ५ स्थित उजेली हेरचाह केन्द्रको आयोजना तथा विद्यालयको व्यवस्थापनमा दुई दिनसम्म भएको शिविरमा नर्सरी देखि ८ कक्षासम्मका कुल एक सय २५ विद्यार्थीको स्वास्थ्य परीक्षण गरियो।

        त्यस अवसरमा हेरचाह केन्द्रको तर्फबाट डा. दिनेश कोइरालाको नेतृत्वमा विदेशी (वेल्जीयम) तथा नेपाली गरी कुल ७ जना स्वास्थ्यकर्मीको टोली खटियो।

        टोलीले सोमबार हात तथा मुख धुने तरिका एवम् दाँत कसरी माझ्ने भन्ने बारेमा संचेतनामूलक कक्षा संचालन गरेको विद्यालयका अध्यक्ष माया अधिकारीले जानकारी दिनुभयो। त्यस्तै मंगलबार दाँत, कान, छाती, मुख, पेट तथा रक्तचाप सम्बन्धी परीक्षण गरिएको छ ।

        वडाध्यक्ष पिताम्बर भण्डारीले केन्द्रले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी महत्वपूर्ण कार्यक्रम गरेको औँल्याउँनु हुँदै त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।पोखराको संस्था भएर पनि गाउँ केन्द्रीत कार्यक्रम गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।

        विद्यालय अध्यक्ष अधिकारीले संस्थाले ९ वर्षदेखि ६ महिनाको अन्र्तरालमा शिविर संचालन गर्ने गरेको स्मरण गर्नु हुँदै सहयोग आफैमा महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

        त्यस अवसरमा निःशुल्क औषधी वितरण गर्नुका साथै विद्यार्थीलाई मञ्जन तथा ब्रस समेत उपलब्ध गराइयो।