
अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयमा नौलो घुम्ती नेपालले सहयोग गरेको छ ।
संस्थाले गुड नेवर्स इन्टरनेसनलको आर्थिक एवम् प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा त्यहाँका ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई झोला, विद्यालय पोशाक एवम् शैक्षिक सामाग्री सहयोग गरेको हो।
सामाग्री हस्तान्तरण गर्नुहुँदै नौलो घुम्ती नेपालका सहजकर्ता बलबहादुर केसीले अन्नपूर्ण ७ आफ्नो वडा भएको जनाउँदै गाउँठाउँमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सकेसम्म सहयोगलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहयोगको सदुपयोग हुने विश्वास लिनुभयो ।
विद्यालयका अध्यक्ष केशवराज दुराले नौलो घुम्ती प्रति आभार प्रकट गर्नुहुँदै संस्थाले समयसमयमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा संस्थाले उल्लेखनीय साथ दिएको स्पष्ट पार्नु हुँदै सहयोगलाई निरन्तरता दिन सुझाव दिनुभयो।
प्रधानाध्यापक शरद् सुवेदीले सहयोग आफैमा महत्वपूर्ण हुने भन्दै विद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार विद्यार्थीका लागि नौलो घुम्ती अभिभावक बनेको धारणा राख्नुभयो ।
संस्थाले झोला, कमेज, पाइट सहित कक्षा अनुसार स्टेशनरी सामग्री प्रदान गरेको हो। सो विद्यालयलाई ९ वर्षदेखि संस्थाले सहयोग गर्दै आइरहेको पनि जनाइएको छ ।
जसअन्र्तगत हरेक वर्ष जाडोको समय पूर्व पनि संस्थाले विद्यार्थीलाई जुता, स्वीटर लगायतका न्यानो कपडा वितरण गर्ने गरेको छ।