फूलबारी क्लबको ३३ औं वार्षिक साधारणसभा

-


     श्रीभद्र पौडेल    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


पोखरा ११ स्थित फूलबारी क्लबको ३३ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।

        सभा उद्घाटन गर्दै वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वडाले गर्नुपर्ने कतिपय सामाजिक कार्यहरु फूलबारी क्लवले गर्ने गरेको तथ्य अगाडि सार्दै सबै मिली वडाको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

        बुढापाकाले देश चलाउने तथा युवाले देश छाड्ने वर्तमान् नेपालीको बाध्यता हटाउनुपर्ने भन्दै वडाध्यक्ष कर्माचार्यले युवालाई स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।देशमा युवाको खाँचो छ, क्लवका कार्यक्रमहरुमा वडा सहकार्य गर्न तयार छ भन्दै वडाध्यक्ष कर्माचार्यले क्लवका संस्थापकप्रति आभार प्रकट गरे । 

        पूर्व वडाध्यक्ष समेत रहेका क्लवका संस्थापक अध्यक्ष माधवप्रसाद बास्तोलाले ठूलो संघर्ष तथा मेहनतका बीच क्लव स्थापना गरिएको स्मरण गर्दै यस बीचमा क्लवले उल्लेखनीय कार्यहरु गर्दै आइरहेको धारणा राखे ।लागुऔषध नियन्त्रण सम्बन्धमा क्लवले कार्ययोजना बनाई वडाभर संचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने औँल्याउँदै संस्थापक अध्यक्ष बास्तोलाले  विभिन्न गतिविधिमा क्लव तथा वडा बीच सहकार्य भइरहेकोमा खुशी व्यक्त गरे ।

        पूर्व अध्यक्ष एवम् सल्लाहकार हरीप्रसाद बास्तोलाले क्लवको पुस्तान्तरण चुनौतिपूर्ण रहेको भन्दै सबै मिली दोस्रो पुस्तालाई (अनुज) सामाजिक उत्तरदायीपूर्ण बनाउन प्रयास गर्नुपर्ने धारणा राखे ।

        क्लवका पूर्व अध्यक्ष एवम् शिवशक्ति क्याम्पसका अध्यक्ष टुवराज बास्तोलाले क्लवका गतिविधि जिल्लामै प्रशम्सायोग्य रहेको धारणा राख्दै विभिन्न उतारचढावका बीच कार्य भइरहेको जनाए ।उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिई प्रदेशकै अग्रणी क्लव बनाउन क्लव नेतृत्वको ध्यानाकर्षण गराए ।

        जनप्रतिनिधी रनसुवा गुरुङले वडामा लागुऔषधका घटनामा बृद्धि भइरहेको स्पष्ट पार्दै नियन्त्रणका लागि सामुहिक पहल गर्नुपर्ने बताइन् ।

        क्लव अध्यक्ष मनोज बास्तोलाले मन, वचन र कर्मले सेवा गरौँ भन्ने नाराका साथ क्लवका गतिविधि अगाडि बढिरहेको चर्चा गर्दै क्लवलाई जिल्लाकै अग्रणी संस्था बनाउन प्रयास भइरहेको जनाए ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लव सचिव युवराज बास्तोला गान्धीले फूलबारी पार्क तथा फूलबारी संस्कार सदन व्यवस्थित बनाउन विभिन्न प्रयास गरिएको स्पष्ट पारे ।उनले मणिपाल गेटदेखि दुरसंचार चोकसम्म सरसफाई, पार्कमा बत्ती जडान तथा मर्मत, देउसी भैलो, जेष्ठ नागरिक मिलन केन्द्रमा टेलिभिजन खरिद तथा नेट जडान, रक्तदान, बृद्धबृद्धा सम्मान, रिठ्ठाघाट व्यवस्थापन, रग्वी खेल प्रशिक्षण लगायतलाई पछिल्लो १ वर्षका महत्वपूर्ण उपलब्धिका रुपमा स्मरण गरे ।

        कोषाध्यक्ष सावित्रीकुमारी पौडेल घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्लवलाई चुस्तदुरुस्त बनाउने तथा पारदर्शी राख्ने कार्य भइरहेको स्पष्ट पारिन् । त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखियो ।

क्लव अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत तथा सचिव युवराज बास्तोला गान्धीले कार्यक्रम संचालन गरे ।