
गीतकार शान्ति कँडेल न्यौपानेको तिजे गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन् ।
छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा नीतिगत र व्यावहारिक रुपमै राम्रा काम गर्नुपर्नेमा उनले गीतका माध्यमबाट सन्देश दिएकी छन् ।
कृतिमा गाउँको संस्कृति, परम्परा बचाऔँ, महिला आवाज बुलन्द गरौँ, कृषिमा सुधार, स्वास्थ्यको आधारजस्ता २२ ओटा तिजे भाकाका गीतहरू समेटिएका छन् । पोखरा ८ सिमलचौर निवासी न्यौपानेका घुम्तीहरू जीवनका शीर्षकको कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको लेखकको भनाइ छ । सानैदेखि साहित्य, सिर्जनामा रुचि राख्ने भए पनि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो ।
कृतिको विश्लेषण गर्दै प्रा. डा. जगन्नाथ रेग्मीले कृतिमा नारी मनका भावहरू कोमल शब्दका माध्यमबाट अभिव्यक्त भएको बताए । उनले कृतिमा राष्ट्रप्रेमको भावना, समाज सुधारको चाहना, सामाजिक विकृति, विसङ्गति अन्त्यको कामनाजस्ता विषयगत विविधता रहेको स्पष्ट पारे ।
लोकसाहित्यकार प्रा. डा. कुसुमाकर न्यौपानेले एउटी नारीले पारिवारिक र सामाजिक सङ्घर्ष गर्दै साहित्य क्षेत्रमा प्रवेश गर्नु र यस किसिमको सुन्दर कृतिको प्रकाशन गर्नुमा सर्जकको सफलता रहेको बताए । पारिवारिक सहयोगबाट नै हरेक उद्देश्य पूरा गर्न सकिनेमा पनि उनले जोड दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार तारा पाखे, साहित्यकार चन्द्रावती वाग्ले तथा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पदमराज ढकाल र शिवालय टोल विकास संस्थाका अध्यक्ष बीना देवकोटाले गीतमार्फत लेखकलाई शुभकामना दिए ।
यसैगरी शिवालय टोल विकास संस्था र शिवालय आमा समूहका दिदीबहिनीहरुले उकाली र ओराली कृतिमा रहेका तीन ओटा गीत गाउँदा तीज पर्व २०८१ आइसकेको सङ्केत दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका डा. विष्णुप्रसाद शर्माले लोकार्पित कृति सङ्ग्रहणीय र पठनीय भएकाले पाठकले कृति पढेर लेखकलाई पृष्ठपोषण प्रदान गर्नुपर्ने बताए ।
संस्थाका सहसचिव मदनप्रसाद बरालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा. भानुभक्त आचार्यले गरेका थिए ।