
अन्नपूर्ण गाउँपालिका स्थित नागडाँडा स्वास्थ्य चौकीले सेवाक्षेत्रका सुत्केरीलाई घरमै पुगी भेटघाट गर्न सुरु गरेको छ ।
स्वास्थ्य चौकीले आन्तरिक स्रोतबाट उक्त कार्यक्रम लागु गरेको हो ।जस अन्तर्गत सोमबार ढिकुरपोखरीकी सुत्केरी देवु भण्डारीको निवासमा पुगी आमा तथा बच्चाका लागि सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, स्वास्थ्य चौकी प्रमुख लोकेन्द्रबहादुर भण्डारी, चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेवीका सम्मिलित टोलीले सुत्केरी परिवारसँग भेटघाट गरेको हो ।
त्यस क्रममा सुत्केरी अवस्थामा आमा तथा बच्चाको हेरचाहमा ध्यान दिनुपर्ने कुराहरु, पोषण, दुधको मात्रा, सरसफाई लगायतका विषयमा स्वयम् सुत्केरी एवम् उहाँहरुको परिवारलाई सचेतना दिइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो।
स्वास्थ्य चौकीले यस कार्यक्रमलाई चालु वर्षभर निरन्तरता दिने भएको छ ।जसमार्फत आमा तथा बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको निर्णय अनुसार उक्त कार्यक्रम गरिएको हो ।जसमा वडाध्यक्ष अध्यक्ष तथा स्वास्थ्य चौकी प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।
स्वास्थ्य चौकीले व्यवस्थापकीय पक्षहरु मिलाएर समयसमयमा विद्यालय स्तरमा पनि स्वास्थ्य जाँचका कार्यक्रम गर्ने उल्लेख गरेको छ ।