
पोखरा–९, नयाँबजारस्थित गुरुकुल विद्यासदनको कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।
त्यस अवसरमा गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवम् विविध पक्षबारेमा अभिमुखीकरण गरियो । त्यस्तै विद्यार्थीलाई अविर र खादा प्रदान गरी स्वागत गरियो।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले फड्को मार्दै अगाडि बढिरहेको चर्चा गर्नुहुँदै शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पनि विद्यालयले योगदान दिइरहेको औँल्याउनुभयो । उहाँले विद्यार्थीको भविष्य समुज्ज्वल बनाउन गुरुकुलले भूमिका खेल्ने विश्वास व्यक्त गर्नु हुँदै लगनशील भई पठनपाठनमा लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले गुरुकुल असल शैक्षिक संस्थाका रुपमा विकास भइरहेको धारणा राख्नु हुँदै अभिभावक तथा विद्यार्थीको रोजाईमा पर्दै गइरहेको बताउनुभयो ।
विद्यालयका अध्यक्ष रवि कार्कीले पठनपाठनका अलवा विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय प्रयासरत रहेको दाबी गर्नु हुँदै विद्यालयले अभिभावकको भरोसा टुट्न नदिने बताउनुभयो । उहाँले कमजोर तथा मध्ययम विद्यार्थीलाई विषयवस्तुमा अब्बल बनाउनु विद्यालयको पहिलो कर्तव्य भएको जनाउँदै विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिनुभयो ।
प्रधानाध्यापक नारायण आचार्य, सह–प्रधानाध्यापक भुवन सुवेदी, १० जोड २ संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठ लगायतले गुरुकुल नाममात्र नभई सार्थक गुरुकुल भएको दाबी गर्नुभयो । उहाँहरुले नवआगन्तुक विद्यार्थीले सही विद्यालय रोजेको भन्दै विद्यार्थीको भविष्य उज्ज्वल रहने औँल्याउनुभयो।
त्यस अवसरमा कलाकार प्रकाश दुतराज, विद्यार्थी सुप्रिया मल्ल ढकुरी, विवश श्रेष्ठ, सृष्टि गुरुङ लगायतका समूहले विभिन्न प्रस्तुति राख्नुभयो । त्यस्तै विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई सम्मान गरियो भने नेवार समूदायको लाखे नाँच समेत प्रदर्शन गरियो।
कक्षा १२ का विद्यार्थी रिया श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह प्रधानाध्यापक सुवेदीले स्वागत तथा १० जोड २ संयोजक शिक्षक श्रेष्ठ, विद्यार्थीहरु प्रसन्न आचार्य र सुवर्ण राईले संयुक्त रुपमा कार्यक्रम संचालन गर्नुभयो ।