पानीमा डुबेर ३ जनाको मृत्यु

-


     अन्नपूर्ण खबर     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


पानीमा डुवेर कास्कीमा आज ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२६ गुदेतालमा लमजुङ करापुटार घर भई हाल पोखरा २६ प्रगतिटोल बस्ने वर्ष ६ का सचिन परियारको डबेर मृत्यु भएको हो।

          उनी त्यहाँ बुबा विकाश परियारसँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा खसी डुबेको र तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगिएकोमा करिव ४ बजे चिकित्सकले मृत घोषणा गरे ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं.२३ घाँटी छिना स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा आज २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ मोहरिया टोल बस्ने वर्ष १८ को प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ का स्वयं ताम्राकार छन् ।

आज दिउँसो करिव साढे ३ बजे घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट उद्दार टोली खटिई गएकोमा करिव ५ बजे उनीहरुलाई मृत अवस्थामा खोलाबाट निकालिएको हो ।

घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ ।त्यहाँ मृतकहरु सहित ६ जना पौडी खेल्न गएको र अन्य ४ जना भने सकुशल रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।