
नेपालश्री पुरस्कार कोष हेमजाको आयोजनामा बुधबार साहित्यकार जनार्दनशरण त्रिपाठीको स्मृतिसभा तथा काव्य परिचर्चा भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि, माटो र प्रकृतिका उपासक एवम् वातावरणीय सवालमा गम्भीर हुने चिन्तकका रुपमा चिनाए।उनले महाकाव्यकार त्रिपाठीलाई अन्तिम अवस्थामा भएपनि गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट अभिनन्दन गर्न पाएको स्मरण गरे।
वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार त्रिपाठी जन्मिएको वडाको बासिन्दा हुन पाएको खुशी व्यक्त गरे।
अधिवक्ता रामचन्द्र त्रिपाठीले जनार्दनको कृति शास्त्रीजीको नेपाली साहित्य प्रतिको योगदान बारेमा देश विदेशमा चर्चा परिचर्चा हुनुपर्ने औँल्याए ।निवर्तमान वडाध्यक्ष शोभाकर तिमिल्सिनाले महाकाव्यकार त्रिपाठी शैक्षिक ,साहित्यिक र आध्यात्मिक क्षेत्रका त्रिवेणी भएको स्पष्ट पारे ।
उक्त कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायक, तीब्रेकोट मणि विकास समितिका उपाध्यक्ष कृष्णबहादुर कुँवर क्षत्री, नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कोषका उपाध्यक्ष डा. बाबुराम अधिकारी, महासचिव छन्दमणि त्रिपाठी, समाजसेवी माधवशरण बास्तोला लगायतले भनाई राख्दै स्वः त्रिपाठीको योगदान, कृतित्व र व्यक्तित्वबारे परिचर्चा गरे ।
त्यस अवसरमा सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष माधव खतिवडा, कवि शिव त्रिपाठी, वसन्त चालिसे र गौमती त्रिपाठीले रचना वाचन गरे ।
त्यस्तै नेपालश्री पुरस्कार कोषका अध्यक्ष समेत रहेका जनार्दनका छोरा अरुणोस्तमले बुबाको जन्मजयन्तीका सन्दर्भमा तीब्रेकोट मणि विकास समितिलाई रु. १ लाख ५ सय रकम सहयोग हस्तान्तरण गरे।