
पोखरा–४, गणेशटोल स्थित बुढानिलकण्ठ मन्दिर संरक्षण समितिको अध्यक्षमा पुष्पेन्द्रबहादुर कोइराला चयन भएका छन् ।
मन्दिर संरक्षण समितिको शनिबार भएको १५ औं साधारणसभा तथा आठौँ अधिवेशनले कोइरालाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा कल्पना गौतम, सचिवमा किरणप्रसाद कोइराला, कोषाध्यक्षमा सीता हमाल तथा सहसचिवमा इन्दु कोइराला छन् ।त्यसैगरी नेत्रपाणि भण्डारी, श्रीकृष्ण अधिकारी, जगन्नाथ कोइराला, कमला कोइराला, सिर्जना कोइराला र हरीनारायण शर्मा सदस्य छनोट भए ।
धर्मराज पराजुली संयोजक तथा उदारराज भण्डारी र उपेन्द्रराज गौतम सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत २ वर्षे कार्यकालका लागि समिति चयन गरेको हो ।
अधिवेशन उद्घाटन गर्दै वडाध्यक्ष देवकृष्ण पराजुलीले संस्कार रहेमात्रै धर्म संस्कृति बच्ने उल्लेख गर्दै धर्म धारण गर्न विषयबस्तु भएको औँल्याए ।उनले मन्दिरका क्रियाकलापमा वडाको सधै साथ रहने प्रतिबद्धता पनि जनाए ।
त्यस अवसरमा गण्डकी प्रदेशका पूर्व सदस्य प्रभा कोइराला, जेष्ठ नागरिक सरोकार समाज कास्की अध्यक्ष भक्तराज श्रेष्ठ, क्रियाकर्म भवनका अध्यक्ष राजेन्द्रनिधी कोइराला, भागवत् वाचिका कौशिला अधिकारी, सल्लाहकार धर्मराज पराजुली, सम्मानितको तर्फबाट रमेश थापा, सदस्य नेत्रपाणि भण्डारी लगायतले धारणा राखे।
उनीहरुले मन्दिरको प्रगतिको कामना गर्दै दाताको सहयोगबाट मन्दिर संचालन भइरहेको स्पष्ट पारे ।पाँच, पाँच रुपैयाँ उठाएर मन्दिर निर्माण सुरु गरिएको स्मरण गर्दै उनीहरुले सिर्जनशील महिला समूह र बुढानिलकण्ठ मन्दिरलाई एकाकार गरी अगाडि बढाउनुपर्ने स्पष्ट पारे ।
मन्दिरका अध्यक्ष लोकनाथ भण्डारीले मन्दिर व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै मन्दिरलाई पोखरा क्षेत्रकै नमूना बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रमका बीच मुर्ति अर्पण कर्ता तथा सहयोगदातालाई सम्मान गरियो ।त्यस्तै सचिव कल्पना गौतम एवम् कोषाध्यक्ष जनक प्रधानद्वारा प्रस्तुत वार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरियो ।
मन्दिरका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष पुष्पेन्द्रबहादुर कोइरालाले स्वागत तथा सचिव कल्पना गौतमले कार्यक्रम संचालन गरिन् ।