बुढानिलकण्ठ मन्दिरमा प्राण प्रतिष्ठा

-


     श्रीभद्र पौडेल    
     असार २८ गते २०८१ मा प्रकाशित


पोखरा–४, फिर्के स्थित बुढानिलकण्ठ मन्दिर परिसरमा बिहीबार विभिन्न भगवान्का मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।भगवान् आकारका मुर्तिलाई बोलाएर मन्दिर क्षेत्रमा विधीपूर्वक राख्ने कार्यलाई प्राण प्रतिष्ठा भन्ने गरिन्छ ।

       त्यस अवसरमा नवग्रह, शिवपञ्चायन, हनुमान, कालभैरव, देवीमाता, गणेश, राधाकृष्ण, सुर्यदेव लगायतको प्राण प्रतिष्ठा गरिएको हो ।कार्यक्रममा पं.बासुदेव आचार्य, पं.रामप्रसाद अर्याल र पं.प्रसम अर्यालले सहजीकरण गरे।

       त्यस्तै पितृ तार्ने उद्देश्यले आवुदयिक श्राद्ध गरिनुका साथै ग्रह तथा द्वारमात्रिका(ढोका) पुजा समेत भएको छ।

       उक्त मन्दिरमा प्राण प्रतिष्ठा गरिएका मुर्तिको शुक्रबार विशेष पुजा हुनेछ। त्यसैगरी एक सय ८ हनुमान चालिसा पाठ, कालभैरव सुत्र पाठ, देवी, विष्णु, शिव, गणेश र सुर्य सहर्ष नाम, रुद्राभिषेक(रुद्री), वेलपत्र अर्पण तथा आरती गर्ने कार्यक्रम रहेको मन्दिरका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए।

       त्यस्तै शनिबार हवन, मुर्ति अनावरण, पूर्ण आहुति, भजनकिर्तन सहित टीकाप्रसाद ग्रहणको कार्यक्रम रहेकोमा मन्दिरले सम्पूर्ण भक्तजनलाई निमन्त्रण समेत गरेको छ ।

       मन्दिर क्षेत्रमा क्रियाकर्म तथा बहुउद्देश्यीय भवन निर्माण गरिसकिएको छ।त्यस्तै धार्मिक पर्यटकका लागि सहुलियत दरमा बस्ने व्यवस्था समेत रहेको छ । मन्दिरका हरेक गतिविधिमा सबै महानुभावलाई समेट्ने प्रयास भइरहेको संस्थापक सदस्य रामबहादुर कोइरालाले जानकारी दिए।