
कास्कीमा पहिरोमा परी गएराति ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ तल्लाकोट टारी बस्ने ४६ वर्षे कुलबहादुर परियार, उहाँकी श्रीमती वर्ष ४३ की मनकुमारी परियार, उहाँकी आमा वर्ष ८५ की लक्षीमा परियार रहनुभएको छ ।
त्यसैगरी कुलबहादुरकी छोरी वर्ष १५ की प्रशना परियार, विवाह भएकी छोरी वर्ष २० की प्रभा परियार(माइत आएकी) उहाँका ज्वाई चितवन निवासी वर्ष २५ का अस्मित परियार (ससुराली आएका) को पनि पहिरोमा परी मृत्यु भएको छ ।
घटनास्थलमा उद्धार गर्ने क्रममा लडी स्थानीय ५६ वषिया राधिका परियारको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
उक्त घटनामा परी स्थानीय ३१ वर्षका कुमार परियार, वर्ष १७ का पवन परियार घाइते हुनुभएको छ ।
टिनले छाएको ढुङ्गा माटोले बनेको कुलबहादुरको १ तले घर अविरल वर्षातका कारण पहिरो आई पुरिन पुगेको थियो ।
त्यसैगरी गएराति करिव २ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा पहिरोमा परी स्थानीय वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का ओझा तथा
वर्ष ९ का प्रतिक सुवेदीको पनि ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।
त्यहाँ स्थानीय आरती ओझाको ढुङ्गा माटोले बनेको १ तले कच्ची घरमा पहिरो गई घर पुरिएको हो ।
उक्त घटनामा परी ४० वर्षीया घरधनी आरती ओझा घाइते हुनुभएकोमा उहाँको अहिले पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा उपचार भइरहेको छ । उहाँका अवस्था मध्यम छ ।
त्यसैगरी गएराति करिव १ बजेको समयमा कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले भन्ने स्थानमा पहिरोमा परी ८० वर्षिया माईतीकुमारी गुरुङको पनि ज्यान गएको छ । उक्त घटनामा मृतक माईतीकुमारीका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई भने स्थानीयको सहयोगमा प्रहरीले सकुशल उद्दार गरेको छ।