
पोखरा–२५, हेमजामा मौरीपालन तालिम दिइएको छ । जनहितैषी फाउण्डेशनको जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ दिने तालिम दिइएको हो ।
जसमा हालै वडाबाट ५० प्रतिशत अनुदानमा मौरीघार प्राप्त गरेका कृषक सहभागि भए । उनीहरुलाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यले वडा कार्यालयको सहकार्यमा फाउन्डेशनले तालिम आयोजना गरेको हो।
कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विषादी न्यूनीकरणमा मौरीपालनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने पनि बताए ।उनले यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
संस्था संचालक मध्ये एक झलकबहादुर राना मगरले मौरीपालन कार्यक्रमलाई पोखरा क्षेत्रमा बृहत् रुपमा अगाडि बढाउनुपर्ने चर्चा गर्दै मह सेवनका फाइदाबारे अवगत गराए ।
त्यस अवसरमा कार्यपालिका सदस्य धना तिम्सिना, वडा सदस्यद्वय सुवाश भण्डारी र तारा विश्वकर्मा, वडा स्तरीय टोल विकास समन्वय समितिका अध्यक्ष दानबहादुर भुजेल लगायतले पनि धारणा राखे।
ताालिम सहजीकरण गर्दै प्रशिक्षक रमेशराज पौडेलले मौरीपालनको परिचय, महत्व, वस्तुस्थिती तथा चुनौति, नेपालमा पाइने मौरीका जातहरु, जातिय विशेषता एवम् तिनको संरक्षण, गोला र घारको व्यवस्थापन विषयमा प्रकाश पारे ।
त्यस्तै कृषि सेवा केन्द्र हेमजा प्रमुख पुष्पा हमालले मौरीका रोग, शत्रुजीव तथा तिनको नियन्त्रण, मौसम व्यवस्थापन बारे सहजीकरण गर्दै मौरीको घार सहित व्यावहारीक प्रदर्शन गरिन् ।
संस्थाका संचालक राना मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संचालक सदस्य लक्ष्मी अधिकारीले स्वागत तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत बोधराज अधिकारीले कार्यक्रम संचालन गरे।