हेमजाका किसानलाई अनुदानमा मौरीघार

-


     श्रीभद्र पौडेल    
     असार २१ गते २०८१ मा प्रकाशित


पोखरा २५ वडा कार्यालयको ५० प्रतिशत अनुदान सहयोगमा हेमजाका ५५ घरपरिवार किसानलाई शुक्रबार गोला सहितका मौरीघार वितरण गरिएको छ।

       वडाको ५ हजार तथा सम्बन्धीत किसानको ५ हजार गरी कुल १० हजारको लागतमा स्टयान्ड सहितका मौरीघार वितरण गरिएको हो ।आ.व ०८०÷८१ को कृषितर्फको स्वीकृत बजेटबाट वडाले घार वितरण गरेको हो।

घार वितरण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिमिल्सीनाले मौरी विषादी न्यूनीकरणको आधार बन्न सक्ने विश्वास व्यक्त गर्दै अर्गानिक खेती प्रणालीमा जोड दिए ।उनले महको फाइदा माथि प्रकाश पार्दै महमा औषधीय गुण हुने औँल्याए।

       कार्यपालिका सदस्य धना तिम्सिनाले सोचेभन्दा बढी माग आएको स्पष्ट पार्दै अन्य किसानलाई दोस्रो चरणमा घार उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

       पूर्व जनप्रतिनिधि लक्ष्मी अधिकारीले मौरीघार वितरण गरी वडाले महत्वपूर्ण कार्यको थालनी गरेको चर्चा गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

       मौरीपालनबारे प्रशिक्षण दिर्दै रमेशराज पौडेलले निश्चित ठाउँ छनोट गरी घार व्यवस्थापन गर्नुपर्ने भन्दै लगातार वर्षाद भइरहे आहारका लागि मौरीलाई चिनीको चास्नी दिनुपर्ने बताए ।उनले बासी चास्नी नदिन सुझाव दिर्दै मौरीसँग मानव जीवनको सम्बन्ध रहेको चर्चा गरे।

       वडाले घार वितरण गरेका कृषकलाई यहि असारमा नै मौरीपालन सम्बन्धी थप तालिम दिने पनि जनाएको छ ।

       जेष्ठ नागरिक मणिराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम कृषि सेवा केन्द्र हेमजा प्रमुख पुष्पा हमालले संचालन गरिन्।