
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ ।
कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए ।
“यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो ।
महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि सञ्चारमाध्यममा यसको चर्काे आलोचना भए । १५ औं नगरसभामाले छुट दिने निर्णय बदर गरिसकेको छ । महानगरको ०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो ।