‘शैक्षिक उत्कृष्टताको अगुवा संस्था अम्बिका’

-


     श्रीभद्र पौडेल    
     पौष २५ गते २०८२ मा प्रकाशित


सुईखेत स्थित अम्बिका माध्यमिक विद्यालय शैक्षिक उत्कृष्टताको अगुवा संस्था भएको औँल्याइएको छ।
विद्यालयको बिहीबार भएका ५८ औं वार्षिकोत्सव, अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा औँल्याउँदै शैक्षिकका अलवा अम्बिकाले भौतिक रुपमा पनि छलाङ मार्दै गएको जनाए।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अम्बिकाका असल अभ्यासहरुलाई अन्य विद्यालयले पनि आत्मसात गर्नुपर्नेमा जोड दिए ।उनले उपचारात्मक शिक्षण सिकाई, जिम्मेवारी बाँडफाड, अभिभावक शिक्षा अम्बिकामा अपनाइने गरेको धारणा राख्दै ति गतिविधिले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिएको स्पष्ट पारे।
हिजो कठिन अवस्थामा विद्यालय थियो, सबैको सद्प्रयासले आज सवल भयो।विद्यार्थी सङख्या बढ्नुमा शैक्षिक गुणस्तरको मुख्य हात छ, त्यसमाथि हेमजामा वसाईसराई गरी आउनेहरुको संख्या पनि बृद्धि भइरहेकै छ प्रमुख आचार्यले भने जसकारण अहिले अम्बिका अगुवा संस्था बन्न पुगेको छ।
अम्बिकामा सबै पक्ष बीच समन्वय छ, नेपाल सरकारले पनि माया मानेकै छ प्रमुख आचार्यले भने अम्बिकाको रफ्तारको प्रगति नरोकियोस्, उत्कृष्ठ संस्कारयुक्त शिक्षालय बनोस् ।
कार्यवहाक वडाध्यक्ष सुवास भण्डारीले अम्बिकालाई अगुवा शैक्षिक संस्था बनाउन सरोकारवाला सबैको भूमिका रहेको स्मरण गर्दै त्यसका लागि स्वर्ण महोत्सव तथा महायज्ञ आधारशिला बनेको औँल्याए।
शिशु पोषण अक्षयकोषका अध्यक्ष नेत्रपाणि भण्डारीले पछिल्लो समय विद्यालयले महत्वपूर्ण फ्ड्को मार्दै गइरहेको सुनाउँदै उक्त कोष कार्यान्वयन मार्फत धेरै विद्यार्थी भर्ना गराउन सफल भएको स्मरण गरे।
विद्यालय अध्यक्ष देवीप्रसाद अधिकारीले सरस्वतीको मन्दिरका रुपमा विद्यालयलाई चिनाउँदै विद्यार्थी आचारणयुक्त बन्नुपर्ने सुझाए। उनले अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालय प्रयासरत रहेको छ भन्दै मेहनती विद्यार्थीको भविष्य उज्ज्वल रहने स्पष्ट पारे।
विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक ओमप्रसाद पौडेलले शिक्षालाई प्रविधिसँग जोड्न प्रयास भइरहेको जनाउँदै उपचारात्मक शिक्षण सिकाइबाट पठनपाठन प्रभावकारी बन्दै गइरहेको औँल्याए ।उनले शिक्षकको लागि लकबुक लागु गरिएको, खाली पीरियड व्यवस्थापन भएको, तहगत इञ्चार्ज तोकिएको, कतिपय कक्षामा सिसिटिभी तथा प्रोजेक्टर जडान गरिएको पनि सुनाए।
उनले कक्षा ५ सम्मका कोठा विद्यार्थी मैत्री नहुनु, आन्तरिक स्रोत अभाव हुनु, कम्प्युटर बिग्रर्ने समस्या बढ्दै जानु, बहुउद्देश्यीय भवन नहुनु लगायतलाई चुनौतीका रुपमा सम्झदै विद्यालय र समुदाय बीचको सम्बन्धलाई प्रगाढ बनाउन खोजिएको स्पष्ट पारे।
कार्यक्रममा जग्गादाता कमल अधिकारी, पूर्व अध्यक्ष बद्रीनाथ पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बोधराज अधिकारी लगायतले पनि धारणा राखे।
त्यस अवसरमा वर्ष विद्यार्थीबाट रोशन बुढाथोकी र वर्षा पुन, वर्ष अभिभावकबाट सूर्य परियार, वर्ष शिक्षकबाट चन्द्रमा पौडेल, आशिष वास्तोला र किरणशर्मा पौडेल, स्वास्थ्य सेवामा योगदान दिने दीपेन्द्र अधिकारी(दीपु), एस्इई उत्तीर्ण विद्यार्थी तथा विभिन्न विश्वविद्यालयमा छात्रबृर्ति प्राप्त गर्न सफल पूर्व विद्यार्थीलाई करुवा र दोसल्ला सहित सम्मान गरियो।
त्यस्तै आफ्नो विषयमा सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु ओमप्रसाद पौडेल, इन्दप्रसाद्र दाहाल, उपेन्द्र अधिकारी, आशिष बास्तोला, अपार भण्डारी, मैयाँ बस्नेत, लिलाधर अधिकारी, सुदिप दाहाल, रोसन सुवेदी लगायत पनि सम्मानित भए।त्यस्तै २२ वटा छात्रवृत्र्ति, वार्षिक शैक्षिक, अतिरिक्त एवम् खेलकुद तर्फका पुरस्कार पनि वितरण गरियो।त्यस्तै विद्यार्थीका १४ समूह एवम् शिक्षक समूहले पनि विभिन्न प्रस्तुति राखे।त्यस्तै विज्ञान तथा प्रविधि प्रदर्शनी पनि भयो।
विद्यालय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक मीना सापकोटाले स्वागत तथा सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले कार्यक्रम संचालन गरे।
नर्सरीदेखि कक्षा १२ सम्म संचालित विद्यालयमा साधारणका अलवा प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनियरिङ(९–१२) को पठनपाठन हुँदै आइरहेको छ।कुल ७ सय १६ विद्यार्थी रहेको विद्यालयमा हाल ३४ शिक्षक कर्मचारी कार्यरत छन् ।