चार्वाक् दर्शनबारे पोखरामा परिचर्चा

-


     श्रीभद्र पौडेल    
     भाद्र २९ गते २०८३ मा प्रकाशित


चार्वाक् दर्शनबारे पोखरामा परिचर्चा भएको छ । छोरेपाटन मा.वि आयोजनामा सोमबार भएको उक्त दर्शन परिचर्चाका वक्ताले मानिसले भविष्य बारेमा चिन्ता नलिई वर्तमान् जीवनलाई सफलीभूत बनाउनुपर्ने बताए।
दर्शनबारे सहजीकरण गर्दै डा. रामप्रसाद सुवेदीले मानवीय जीवन सुधार्न यही लोकलाई जीवन्त बनाउनुपर्ने भन्दै भविष्यको चिन्ता नलिन आग्रह गरे। चार्वाक्ले पूर्वीय दर्शनलाई अन्धविश्वासबाट हटाई यथार्थ धरातलमा ल्याउन भूमिका खेलेको उनले प्रष्टाए ।
चार्वाक्लाई पाण्डित्यवाद तथा अन्धविश्वास विरुद्धको प्राचीन भौतिकवादी विद्रोहको संज्ञा दिर्दै सहजकर्ता डा. सुवेदीले मानिसले परलोक नदेखेको भन्दै यही लोक नै अन्तिम सत्य भएको स्पष्ट पारे। मृत्युपछि अर्को लोक छैन, परलोक, स्वर्ग, नर्क केवल मानिसका कल्पना मात्रै भएको उनको तर्क छ ।
उक्त दर्शनले जे अगाडि देखिएको छ, त्यही मात्रै प्रमाण मान्ने गरेको भन्दै सहजकर्ता डा. सुवेदीले वायु, जल, पृथ्वी र तेज नै सृष्टिका भौतिक आधार भएको भनाई राखे।

चार्वाक्ले धर्मको आवरणमा हुने आर्थिक गतिविधिलाई निरोत्साहित गर्ने गरेको उल्लेख गर्दै डा. सुवेदीले भोलीको अनिश्चित स्वर्ग भन्दा वर्तमान्को निश्चित सुख नै उत्तम हुने उल्लेख गरे।उक्त दर्शनले मृत्युलाई अन्तिम मुक्ति मान्ने गरेको भन्दै स्वर्ग, नर्क जीवनका भोगाइ रहेको तर्क राखे।
प्र्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले उक्त दर्शनले भौतिकवादलाई विश्वास गरी अध्यात्मवादलाई कम महत्व दिने गरेको धारणा राखे। यसले पुनःजन्मलाई विश्वास नगर्ने उनले प्रष्टाए ।मानिसले सुखसँगै जीवन बिताउनुपर्दछ भन्ने सार नै चार्वाकको मूल मर्म रहेको धारणा राख्दै प्रधानाध्यापक भुषालले उक्त दर्शनलाई शिक्षणसिकाई क्रियाकलापसँग जोड्नुपर्ने स्पष्ट पारे।
सहायक प्रधानाध्यापक खेमराज बरालले जीवन सिकाइ भएको अनुभव राख्दै विभिन्न दर्शनबाट जिन्दगी प्रभावित हुने गरेको धारणा राखे।उनले दर्शनबारे ज्ञान लिदै शिक्षकले विद्यार्थीलाई तार्किक बनाउनुपर्ने उल्लेख गरे।
अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले चार्वाक् नास्तिक जीवनदर्शन भएको प्रष्टाउँदै विद्यालयले विभिन्न दर्शनबारे समयसमयमा छलफल चलाउने गरेको स्मरण गरे। नयाँ दर्शनबारे ज्ञान मिलेको भन्दै उनले सहजकर्तालाई धन्यवाद पनि दिए।
कार्यक्रममा सहभागिले चार्वाक् दर्शनको मान्यता अनुसार कर्मलाई प्रधानता दिनुपर्ने जनाउँदै भाग्यवादमा विश्वास नगर्न सुझाए। उक्त दर्शनले प्रत्यक्ष अनुभव, तर्क तथा सन्देह तथा जीवनउपयोगी शिक्षालाई प्राथमिकता दिने गरेको उनीहरुले सुनाए। अनुमान्को अस्वीकृति, अव्यवहारिक तर्क तथा विपत्ती सामनामा चार्वाक दर्शन चुकेको उनीहरुले स्पष्ट पारे।
उक्त दर्शनमा मूल्यपरक शिक्षाको अभाव, सामाजिक उत्तरदायित्व अपूर्ण छ भन्दै सहभागिले चार्वाक् दर्शन केवल सुखको कल्पनामा मात्रै रमाउनु दुःखद् भएको जनाए।
कतिपय अवस्थामा समाज एवम् घरपरिवार संचालनका लागि प्रगतिशील परिवर्तन चाहिने, आत्म रहुन्जेल मात्रै शरीरको अर्थ रहने भन्दै सहभागिले उक्त दर्शनले धर्म मानेपनि त्यसमा धेरै भरोसा नगर्ने गरेको अनुभव राखे। कर्मवाद नै उक्त दर्शनको मूल मर्म रहेको उनीहरुले बुझाइ छ।
उनीहरुले पूर्वीयको तुलनामा पाश्चात्य मान्यताले ईश्वरलाई कम महत्व दिने गरेको अनुभव पनि राखे।कार्यक्रम प्रधानाध्यापक भुषालको अध्यक्षतामा भएको हो।