मोर्निङस्टार माविलाई अन्नपूर्ण गाउँपालिकाद्वारा सम्मान

-


     श्रीभद्र पौडेल    
     असार २१ गते २०८३ मा प्रकाशित


पोखरा २०, असार।अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयलाई गाउँपालिकाले सम्मान गरेको छ।
एसइई २०८२ मा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालयलाई शनिबार आयोजित कार्यक्रममा पालिकाले सम्मान गरेको हो।त्यस अवसरमा प्रधानाध्यापक फणिन्द्रप्रसाद अधिकारी, विषय शिक्षकहरु ईन्द्रदोर्जे लामा, प्रेमकुमार प्रधान, भोलानाथ पौडेल, रामप्रसाद सुवेदी, झलक रानाभाट, श्रीकृष्ण तिमिल्सीना र काशीराम शर्मा सम्मानित भए ।
त्यस्तै ३.९६ जिपीए ल्याउन सफल सन्तोषी अधिकारी सहित उत्तीर्ण ५० जना विद्यार्थीलाई पनि पालिकाले नगद, सम्मानपत्र एवम् माला सहित सम्मान गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मोर्निड्डस्टार कास्की जिल्लाकै गर्वलायक विद्यालय भएको जनाउँदै त्यहाँका असल अभ्यासहरु अन्य विद्यालयले पनि सिक्नुपर्ने औँल्याए ।उनले पालिका शिक्षाको गुणस्तर बृद्धि गर्न लागि परिरहेको स्पष्ट पार्दै पछिल्ला वर्षहरुमा त्यसको परिणम नतिजाले देखाउँदै आएको धारणा राखे ।
अध्यक्ष केसीले शिक्षाले मानिसलाई जीवनभर साथ लिने उल्लेख गर्दै आफ्नो भविष्यसँगै समाजलाई समृद्ध बनाउन सबैले भूमिका खेल्नुपर्ने प्रष्टाए।
पालिका प्रवक्ता समेत रहेका अन्नपूर्ण ७ का अध्यक्ष भरतमान् गुरुङले प्रधानाध्यापक सहित उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिर्दै अन्नपूर्णले मोर्निड्डस्टारबाट ठूलो अपेक्षा राखेको सुनाए।
अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले शिक्षा सुधारमा पालिका गम्भिर रहेको जनाउँदै विद्यार्थीको सिर्जनात्मक क्षमतालाई एआईसँग जोड्न आग्रह गरे।
अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारीले मोर्निड्डस्टारले नाम जस्तै काम गरिरहेको स्पष्ट पार्दै सो विद्यालयको शैक्षिक गुणस्तरका कारण त्यस क्षेत्रबाट पढाइका लागि शहर झर्नेको संख्यामा कमी आएको धारणा राखे।
प्रधानाध्यापक फणिन्द्रप्रसाद अधिकारीले सरोकारवाला सबैको प्रयासबाट पटकपटक सत् प्रतिशत नतिजा आउन सफल भएको स्पष्ट्र पार्दै आगामि दिनमा पनि रचनात्मक सुझाव दिइरहन आग्रह गरे।उनले विद्यालयको इतिहास सम्झर्दै कक्षा १२ तथा आधारभूत तहतर्फ पनि उत्कृष्ट नतिजा आइरहेको स्पष्ट पारे।
गाउँपालिका शिक्षा अधिकृत सरास्वती पुनले गाउँपालिकाको गर्वलायक विद्यालयका रुपमा मोनिड्डस्टारलाई चिनाउँदै सामुदायिक एवम् संस्थागत विद्यालय बीचको समन्वयमा जोड दिइन्।
त्यस अवसरमा अभिभावक कमला केसी, विद्यालय सदस्य कविता विक लगायतले पनि धारणा राख्दै मोर्निड्डस्टारले इतिहास रच्दै आइरहेको उल्लेख गरे।
कार्यक्रममा विद्यार्थीहरु सलिना नेपाली, पायल त्रिपाठी लगायतले विभिन्न सांस्कृतिक प्रस्तुति राखे ।त्यस्तै विद्यालयले पनि उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो सहित सम्मान गर्यो।
विद्यालय सदस्य कविता विकको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक दिल जिसी तथा शिक्षा अधिकृत पुनले संयुक्त रुपमा संचालन गरे।
यसैबीच गाउँपालिकाले एसइईमा सत् प्रतिशत नतिजा ल्याउन सफल पालिका स्थित सिर्जना मावि, बालमन्दिर मावि, उमा मावि र फुम्रुखु माविलाई पनि सम्मान गर्ने जनाएको छ।