
पोखरा २०, असार।पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।
कक्षा १२ का विद्यार्थीको आयोजनामा शनिबार भएको कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीलाई स्वागत गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य दानबहादुर शाहीले नवआगन्तुक विद्याथीलाई स्वागत गर्दै छोरेपाटनको गरिमालाई ख्याल गर्दै पठनपाठनमा होमिन सुझाए।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले भविष्य ख्याल गरी अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्दै दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले महत्व दिर्दै आएको प्रष्टाए।उनले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय लागि परिरहेको स्पष्ट पारे।
सहायक प्रधानाध्यापक खेमराज बरालले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्था रहेको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासन बारे ज्ञान दिए ।
अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यालयमा पठनपाठनको वातावरण राम्रो रहेको उल्लेख गर्दै विद्यार्थीले असल साथीको संगत गर्नुपर्ने धारणा राखे।
कक्षा १२ की सञ्जु ढकालले भाइबहिनीलाई स्वागत गर्न पाउँदा खुशी लागेको सुनाउँदै आचरणयुक्त व्यवहार अपनाउन आग्रह गरिन्।
नवआगन्तुक विद्यार्थीको तर्फबाट अप्सरा परियारले आयोजक कक्षा १२ प्रति आभार प्रकट गर्दै आफूहरुले भविष्य तथा बुबा आमाको सपनालाई ख्याल गरी अध्ययन गर्ने प्रतिबद्धता जनाइन्।
त्यस अवसरमा विद्यार्थीलाई अभिमुखीकरण गरियो भने विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखे ।
कक्षा १२ की सान्वी कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख डिल्लीराम बरालले संचालन गरे।
छोरेपाटनमा कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूह अन्तर्गत पठनपाठन हुने गर्दछ।











