मानवसेवा आश्रमको भवन पूर्णताका लागि महायज्ञ

-


     श्रीभद्र पौडेल    
     वैशाख १७ गते २०८३ मा प्रकाशित


हेमजा स्थित मानवसेवा आश्रमले यही १९ देखि २६ वैशाखसम्म गर्न लागेको श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ।
आयोजक आश्रमले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यज्ञको तयारी सकिएको जनाएको हो । जसमा भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन्।
आश्रमको हेमजा स्थित निर्माणधिन भवन तथा लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिने, मुक्तिनाथ सेवा धर्मशाला निर्माण र अक्षयकोष श्रीबृद्धि गर्ने उद्देश्यका साथ उक्त यज्ञ गर्न लागिएको हो ।जसमार्फत पितृ मोक्ष, शान्ति प्राप्ति एवम् मानवता प्रर्वद्धन हुने अपेक्षा गरिएको छ।
यज्ञ अन्तर्गत उद्घाटनको दिन बाजागाजा सहित शोभायात्रा हुनेछ ।त्यस्तै विभिन्न सांस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तन समेत संचालन गरिने।
जसअन्तर्गत प्रत्येक दिन विहान ५ बजेदेखि ७ बजेसम्म योगविज्ञान शिविर, साढे ७ बजेदेखि साढे ९ बजेसम्म आमा सेमिनार कार्यक्रम गरिने आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए।
त्यस्तै साढे ११ बजेसम्म भजन प्रतियोगिता, साढे ११ देखि ५ बजेसम्म कथा प्रवचन, साँझ ५ बजेदेखि साढे ६ बजेसम्म शिक्षकको लागि उत्प्रेरणमूलक कार्यक्रम एवम् राती ९ बजेसम्म कलाकारबाट भजन प्रस्तुति लगायतका कार्यक्रम गरिने उल्लेख छ ।
अधिकारीले यज्ञमार्फत ज्ञानलाई विज्ञानसँग जोडिने पनि स्पष्ट पारे।सात प्रदेश स्थित २३ जिल्लाका ३४ सेवा केन्द्र मार्फत आश्रमले सहयोगापेक्षीलाई सेवा उपलब्ध गराइरहेको जनाउँदै अधिकारीले कास्कीका २ सेवा केन्द्र हेमजा र विरौटा संचालनमा मासिक ४० लाख खर्च लाग्ने गरेको जानकारी दिए।
भवनलाई पूर्णता दिन अव करिव ४ करोड लाग्छ, मन्दिरमा पनि करिव डेढदेखि २ करोडसम्मको कार्य गर्न बाँकी नै छ, यि कार्यभार पूरा गर्न यज्ञ सफल हुने उनको विश्वास छ।यसअघि पनि आश्रमले विभिन्न जिल्लामा १३ वटा यस्तै यज्ञ लगाइसकेको छ ।
अधिकारीले आश्रम संचालन एवम् व्यवस्थापनका लागि करिव ६० प्रतिशत रकम व्यक्तिहरुबाट तथा ४० प्रतिशत सरकारको लगानी परेको पनि जनाए।
मूल समारोह समितिका संयोजक अनिलकुमार शाहीले यज्ञमा आम पोख्रेलीको साथ रहने विश्वास सुनाउँदै मानवीय सेवा नै परम् धर्म भएको धारणा राखे।
मूल समारोह समितिका उपसंयोजक सुष्मा पौडेलले आश्रम निर्माण मार्फत मानव सेवाको सङ्कल्प पूरा हुने धारणा राख्दै तन, मन र धन, जे सकिन्छ त्यहीले सहयोग गर्न अपिल गरिन्।
महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरु पनि आयोजना गरिनेछ । आश्रमले यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्ने पनि रहेको परिकल्पनाकार अधिकारीले बताए ।
२०६९ भदौ १३ मा आश्रमले मकवानपुरको हेटौंडाबाट मानवीय सेवा सुरुवात गरेको हो । जसका अहिले देशैभरि ३४ सेवा केन्द्र सञ्चालनमा छन्।ति केन्द्रमा करिव २ हजार १ सय सहयोगापेक्षी आश्रित छन्।
आश्रमले देशभरबाट सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । आश्रम व्यवस्थापनका लागि समय–समयमा आश्रमको पूर्वाधार निर्माण, सेवा विस्तार र अक्षयकोष बृद्धिका लागि यज्ञ हुँदै आएका छन्।