
राजनीतिक दल लगायतका सरोकारवालाले हाल पोखरामा देखिएको फोहोरमैला व्यवस्थापन समस्या सम्बन्धमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
पोखरा महानगरको आयोजनामा बुधबार भएको सर्वदलिय, सर्वपक्षिय बैठकका सहभागिले उक्त प्रतिबद्धता जनाएका हुन्।उनीहरुले पर्यटकीय नगरी पोखराको साख विश्वबजारमा रहेको उल्लेख गर्दै पोखरालाई सफा राख्नुको विकल्प नभएको उल्लेख गरे।
जिल्ला समन्वय समिति प्रमुख लिलाधर अधिकारीले पोख्रेलीको मर्यादा अन्तराष्र्टि«य स्तरसम्म फैलिएको जनाउँदै त्यसमा पछिल्लोपटक फोहोर व्यवस्थापनले चुनौति थपेको धारणा राखे ।हाम्रो काम समन्वय एवम् अनुगमन गर्ने हो, त्यसमा लागि समिति सधै तयार छ, प्रमुख अधिकारीले भने गर्मी बढ्दै छ, चाँडै नै फोहोरको व्यवस्थापन गर्नुपर्दछ।
महानगर प्रमुख धनराज आचार्यले हालको फोहोरलाई अल्पकालिन व्यवस्थापन गरी दीर्घकालिन उपायका लागि स्थायी प्रशोधन केन्द्र निर्माणतर्फ महानगर अग्रसर रहेको सुनाए।उनले विभिन्न बाध्यता, विवसता एवम् कतिपय अवस्थामा हेलचक्राईका कारण फोहोर व्यवस्थापनमा समस्या आएको धारणा राख्दै महानगर फोहोरको दीर्घकालिन व्यवस्था मार्फत मोहर आर्जन गर्ने पक्षमा रहेको बताए।
हामीले स्थायी प्रशोधन केन्द्र मार्फत फोहोरबाट ग्याँसदेखि बिजुलीसम्म निकाल्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ। त्यसका लागि युरोपियन टेक्नोलोजिबाट पिपिपि मोडलमा कार्य हुँदैछ प्रमुख आचार्यले भने।उनले अवको तीन दिनभित्रमा पोखराका सडकबाट फोहोर उठ्न सुरु हुने आश्वासन समेत दिए।
महानगर अस्थायी रुपमा फोहोर विर्सजन गर्ने ठाउँको खोजीमा रहेको स्पष्ट पार्दै त्यसका लागि सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज लगायत आम पोख्रेलीमा उनले आग्रह पनि गरे।
गण्डकी प्रदेशका प्रमुख सचिव डण्डराज घिमिरेले पोखरामा फोहोरमा राजनीति हुनु दुःखद् भएको सुनाउँदै फोहोर व्यवस्थापन तीन वटै सरकार एवम् महानगरवासीको साझा दायित्व भएको उल्लेख गरे।
उपप्रमुख मञ्जुदेवी गुरुङले फोहोर व्यवस्थापन सबै तहको दायित्व भएको धारणा राख्दै सबै मिलेर समाधान गर्नुपर्ने जनाइन्।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ बरालले मापदण्ड अनुसार फोहोर व्यवस्थापनमा सघाउन गृह प्रशासन तयार रहेको स्पष्ट पार्दै व्यवस्थापनमा चुनौति खडा गर्नेलाई कानुनी दायरामा ल्याइने उल्लेख गरे।
नेपाली काँग्रेसका प्रतिनिधि नविन सिग्देलले फोहोर व्यवस्थापनमा सहयोग गर्न पार्टी तयार रहेको स्पष्ट पार्दै फोहोरको डङगुरमा राजनीति नहुने स्पष्ट पारे।पर्यटकीय नगरीलाई प्रदुषित नगरी बनाउने छुट कसैलाई पनि नभएको सिग्देलको धारणा छ।
एमाले कास्की उपाध्यक्ष भेषराज बरालले स्वास्थ्य सबैको सम्पति भएको उल्लेख गर्दै पार्टीले फोहोरमा राजनीति नगर्ने स्पष्ट पारे।उनले पार्टी संकारलाई जीवन्त राख्न प्रमुख आचार्यलाई सुझाव दिर्दै चुनावको वेला जनतासँग गरेका प्रतिबद्धता पुरा गर्न प्रमुख आचार्यको ध्यानाकर्षण गराए।
नेपाली कम्युनिष्ट पार्टीका विश्वप्रकाश लामिछानेले प्राविधिक हिसावले उपयुक्त स्थानमा फोहोर विर्सजन गर्नुपर्ने जनाउँदै व्यवस्थापनबारे दीर्घकालिन योजना कार्यान्वयनलाई शीघ्र अगाडि बढाउन महानगरलाई सुझाए।
कार्यक्रममा नागरिक अभियान्ता रामबहादुर पौडेल, गैरसरकारी संस्था महासंघका रामप्रसाद सुवेदी, वातावरण अभियान्ता चन्द्रबहादुर गुरुङ, महानगर इञ्जिनियर नेत्र तिमिल्सीना, राष्ट्रिय स्वतन्त्र पार्टीका नारायणप्रसाद आचार्य, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर केसी, श्रम संस्कृति पार्टीका आशिष थापा, जनता समाजवादी पार्टीका मधुकर न्यौपाने, स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला, स्थानीय दीपकबहादुर थापा लगायतले पनि धारणा राखे।
उनीहरुले फोहोर व्यवस्थापनमा स्वयम्सेवक बन्न आफूहरु तयार रहेको, महानगरले फोहोर वर्गीकरण गर्नुपर्ने, फोहोरलाई मानव बस्ती तथा खानेपानी मुहान क्षेत्रभन्दा टाढा लगी खाडल खनेर पर्नुपर्ने, मापदण्ड अनुसार फोहोर व्यवस्थापन हुनुपर्ने, वडा कार्यालयलाई पनि फोहोर व्यवस्थापनमा सहभागि गराउनुपर्ने लगायत सुझाए।
महानगर प्रमुख आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले संचालन गरे।
यसअघि फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न वडाका १६ ठाउँमा जग्गा खोजी गरेपनि हालसम्म उपयुक्त ठाउँ छनोट गर्न सकेको छैन।विर्सजन ठाउँ अभावमा पोखरामा हाल १ महिनादेखि फोहोर उठ्न सकेको छैन।











