
नेपाली कांग्रेस, कास्की जिल्ला सदस्य विष्णु अधिकारीले शुक्रबार सम्पन्न जिल्ला समितिको बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि काठमाडौंबाट पेश गरेको लिखित प्रस्तावमार्फत पार्टीको रुपान्तरण, आन्तरिक छानबिन तथा सभापति शेरबहादुर देउवाको परिवारसम्बन्धी समाचारबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
प्रस्तुत छ उनले अगाडि सारेको प्रस्ताव
नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका का.वा. सभापतिज्यू तथा सम्पूर्ण सदस्यज्यूहरुमा जय नेपाल । मेरो यो लिखित प्रस्ताब पेश गर्न चाहन्छु। काठमाडौंमा रहेको कारणले आजको महत्त्वपूर्ण बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि, पार्टीको वर्तमान अवस्था र भविष्यबारे मेरा केही गम्भीर धारणा र सुझावहरु राख्न चाहन्छु।
पार्टी रुपान्तरण र सुशासनको अपरिहार्यता
हाम्रो पार्टी, नेपाली कांग्रेसले देशलाई लोकतान्त्रिक बाटोमा ल्याउन करिब ८ दशक लामो गौरवशाली इतिहास बोकेको छ। तर, हालैका दिनमा हामीले जुन किसिमको चुनौती सामना गरिरहेका छौं, त्यो हाम्रो इतिहासकै सबैभन्दा संवेदनशील क्षण हो। पुरानो सोच र शैलीले मात्र अब अगाडि बढ्न सकिन्न भन्ने कुरालाई हालै भएको जेनजी आन्दोलनले स्पष्ट पारेको छ।
यो आन्दोलन कुनै षड्यन्त्रबाट नभई आम जनता, विशेष गरी नयाँ पुस्ताको पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाको कारणले उठेको हो।(मुलत: चुनाब अगाडि तथा पछाडिको गठबन्धनले) पार्टीलाई सही बाटोमा उभ्याउन र सुशासन कायम गर्न निम्न कदमहरु तत्काल चाल्नुपर्ने आवश्यकता छ:
- आन्तरिक छानबिन समिति गठन र सम्पत्ति छानबिन: २०४६ सालपछि लाभको पदमा बसेका वा राजनीतिक नियुक्ति पाएका सम्पूर्ण जनप्रतिनिधि तथा नेताहरुको शंकास्पद रूपमा आर्जन गरेको सम्पत्तिको छानबिन गर्न तत्कालै उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्छ। बी.पी. कोइरालाले आफ्नो कार्यकालमा दुई भारी दाउरा बढी हुँदा पनि छानबिन समिति बनाएको आदर्शलाई हामीले अब व्यवहारमा उतार्नुपर्छ।
- पुस्तान्तरण र रुपान्तरण: अबको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्छ। पार्टीलाई पुरानो शैलीबाट नयाँ ढाँचामा रुपान्तरण गर्नुपर्छ। ‘एक व्यक्ति एक पद‘ को सिद्धान्तलाई कडाइका साथ लागू गरिनुपर्छ ताकि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ होस्।
- बिपिको आदर्श र नैतिकवान राजनीति: बी.पी. कोइरालाले प्रधानमन्त्री हुँदा २५०० को तलब घटाएर १५०० मा झारेको उदाहरणलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। अहिलेका नेताहरुको जीवनशैलीमा देखिएको आमूल परिवर्तनले गर्दा नै वर्ग संघर्षको अवस्था सिर्जना भएको छ। यसले हाम्रो पार्टीप्रतिको जनविश्वासमा ह्रास ल्याएको छ।
हिंसात्मक घटना र क्षतिपूर्ति
भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा भएको घुसपैठका कारण ठूलो धनजनको क्षति भएको छ। यसबाट कास्की जिल्ला पनि अछुतो रहन सकेन। यस घटनामा सरकारी भवनहरु पूर्ण रूपले ध्वस्त भएको जसको कारणले आम कस्केली जनतालाई सेवा प्रवाहमा कठिनाई भएको छ ।नेपाली कांग्रेस तथा नेकपा एमालेको जिल्ला पार्टी कार्यालय पूर्णरुप क्षति भयका छन् / नेपाली कांग्रेस र अन्य पार्टीका नेताहरुको घर तथा व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणको घोर निन्दा गर्दछु। विशेष गरी, नेपाली कांग्रेस कास्कीका नेता तथा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा लाई लक्षित गरी गरिएको आक्रमण र धनजनको क्षति अपमानजनक तथा घोर आपत्तिजनक छ। नेपाल सरकारसँग उचित छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग पनि म यसै बैठकमा राख्न चाहन्छु।
सभापतिज्यूको घरबारे सत्यतथ्य सार्वजनिक गर्न माग
पार्टी सभापति शेरबहादुर देउवाको घरबारे नकारात्मक समाचारहरु प्रकाशित भएका छन्। उहाँले अनुचित तरिकाले सम्पत्ति आर्जन गरेको भनी जनमानसमा फैलाइएको भ्रमको सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यदि त्यसमा कुनै सत्यता भए छानबिनको प्रक्रिया अघि बढाउनुपर्छ। यदि ती समाचार झुटो भए, त्यस्ता भ्रामक समाचार प्रकाशन गर्ने संघसंस्थाहरुलाई नेपाल सरकारको सहयोगमा कारबाही गर्नुपर्छ।जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उनकी धर्मपत्नीप्रति भएको अपमानप्रति गहिरो दुःख व्यक्त गर्दछु र शिग्र स्वास्थ्य लाभको कामना गर्दछु
अन्तमा, हामीले यो आन्दोलनबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ। युवा पुस्ताको आवाजलाई दबाउन होइन, बरु उनीहरुलाई पार्टीभित्र समेटेर अगाडि बढ्ने रणनीति बनाउनुपर्छ। सामाजिक सञ्जालमा कडाई वा नियन्त्रण होइन, बरु सही सूचना र विचारको प्रवाह बढाएर आम जनता र युवाहरुलाई जोड्नुपर्छ।जेनजी आन्दोलनकोक्रममा शहादत प्रप्त गर्नु हुनी सम्पूर्ण सहिद प्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
आशा छ, मेरा यी सुझावहरुलाई गम्भीरतापूर्वक लिई पार्टीको हितमा आवश्यक कदम चालिनेछ।
धन्यवाद !









