सराङकोटमा तीजमेला तयारी तीब्र

-


     श्रीभद्र पौडेल    
     श्रावण २२ गते २०८२ मा प्रकाशित


पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी तीब्र पारिएको छ।त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला तयारी गरिएको हो।

       मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा सचिवमा डिलबहादुर थापा छन्।

       त्यस्तै कृष्णबहादुर थापाको नेतृत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको नेतृत्वमा आर्थिक संकलन, वडा सदस्य कल्पना ढकाल क्षत्रीको संयोजकत्वमा महिला परिचालन एवम् राजकिशोर थापाको नेतृत्वमा युवा परिचालन समिति पनि निर्माण गरिएको छ।

       मेला अन्र्तगत खुला तीजगीत, एकल महिला नृत्य, डोरी तान्ने, ठेलो हान्ने लगायतका प्रतियोगिता हुनेछन्।

तीजगीततर्फ प्रथम हुने समूहले रु.६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार तथा सान्त्वना हुने ३ समूहलाई २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ।त्यस्तै उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि जनही रु.३ हजार पाँच सय साथमा प्रमाणपत्र व्यवस्था छ।गीत सराङकोटको ऐतिहासिक पृष्ठभूमि, धार्मिक एवम् पर्यटकको महत्व विषय केन्द्रीत हुनुपर्नेछ।

त्यस्तै तीजका मौलिक गीतमा हुने एकल महिला नृत्यतर्फ प्रथम हुनेले रु.१० हजार, दोस्रोले रु.७ हजार, तेस्रोले ५ हजार, सान्त्वनालाई रु.३ हजार प्रदान गरिने महिला परिचालन समिति संयोजक वडा सदस्य कल्पना ढकाल क्षत्रीले जानकारी दिइन्।

त्यसैगरी डोरी तान्ने विजेता समूहले रु.११ हजार १ सय, उपविजेताले रु.७ हजार १ सय एवम् ठेलोतर्फ प्रथमले रु.५ हजार एक सय र द्वितीय हुनेले रु.३ हजार एक सय प्राप्त गर्ने उल्लेख छ।

सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै तीजका नाममा हुने गरेका विकृति अन्त्य गर्नुपर्ने बताए।उनले धार्मिक क्षेत्र विकास समितिले पहिलो पटक तीजमेला आयोजना गरेको स्पष्ट पार्दै सबै मिलि मेलालाई सफल बनाउनुपर्ने औँल्याए।