
पोखरा–१८, सराङकोटधाममा शिव महिमा विशेष पूजा सोमबारबाट सुरु भएको छ।
साउनका प्रत्येक सोमबार गरिने उक्त पुजालाई पञ्चरुद्री पनि भनिएको छ।त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती गरिएको छ ।त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ ।
पुजा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सराङकोट धार्मिक पर्यटकीय स्थलमा रुपमा स्थापित भइसकेको जनाउँदै अव त्यसको व्यवस्थापकीय पाटोमा ध्यान दिनुपर्ने बताइन् ।उनले सराङकोट पर्यटकीय अवला धार्मिक क्षेत्रका रुपमा स्थापित हुनु कस्केली सबैका लागि खुशीको कुरा भएको औँल्याइन्।
वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले २० औं वर्ष मेहनतको प्रतिफल स्वरुप सराङकोट टपमा विभिन्न संरचना निर्माण गरी धाममा रुपमा स्थापीत गर्न सफल भएको स्पष्ट पारे।उनले सराङकोट धार्मिक क्षेत्र भएकाले प्रहरी विट राख्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए।
सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको सद्भावबाट त्यस क्षेत्रको स्तरबृद्धि भएको जनाउँदै साउनका प्रत्येक सोमबार विशेष पुजा हुने अवगत गराए।
त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय प्रमुख श्यामबाबु ओलियाँ, राष्ट्रिय अनुसन्धानका मोहन कुँवर, अन्नपूर्ण केवलकारका प्रबन्ध निर्देशक दिनेश पौडेल लगायतको पनि उपस्थिती रहयो।
पुजामा पुरुषोत्तम पहारीको नेतृत्वमा ११ जना पण्डित तथा टीकाराम तिमिल्सीनाको नेतृत्वमा भजन समूह खटिए।त्यस्तै वडाध्यक्ष तिमिल्सीना, धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष उमनाथ चपाई, सल्लाहकार पूर्णप्रसाद तिमिल्सीना, सदस्य कृष्ण थापा र शुभचिन्तक राधिका थापा कर्ता भए।
सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षेत्रीले स्वागत तथा सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे।









